।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Tuesday, August 3, 2021

 

   खोज खबर ३६४                   

 

                         सदरमुकाम जस्तो

   जसले जे भने पनि हामी बेसिशहर वासी प्रत्यक्षरुपमा सहभागि र  साक्षी छौं नेपालको संबिधान २०७२ जारी गर्न जसरी नेपालका अन्य शहरहरुमा बसेका जनताले बलिदान गरे त्यसै गरी लमजुङको बेसिशहरमा बसोबास गर्ने जनताहरुले पनि बलिदान गरेकै हुन । आन्दोलनका सुरुका दिन देखि अन्तिमका १९ सै दिनमा दैनिक रुपमा शसक्तता प्रदान गरेकै हुन । त्यसैको कारण स्वरुप नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रलाइ संस्थागत गर्ने संबिधान निर्माण भै कार्यान्वयन गर्न पनि सहयोग मिले कै हो । त्यसैको आधारमा पहिलो पटक स्थानिय ,प्रदेश र  केन्द्रिय वा संघको निर्वाचन सम्पन्न भै कार्यान्वयनमा आइ अब स्थानिय तहको अवधी १ वर्ष भन्दा पनि कम छ । एकता र मेल मिलापका कारण तीनै तहमा बहुमत प्राप्त शक्तिसाली सरकारहरु गठन भएका पनि थिए ।  राजनैतिक रुपमा यस्तो अभुतपूर्व अवस्था वा अवसर नेपालमा न हिजो आएको थियो न भोली आउला भनी सरोकारवालाहरुले भनि रहेका पनि छन । जनतामा अत्यन्तै उत्साह जाँगर र जोस बढैको पनि हो। सकारात्मक  आशा पनि जागेकै हो । ७ वटा प्रदेश र ७५३ वटा स्थानिय सरकार को गठन भए पछी घर घरमा बिकास र निर्माणका कार्यहरु आइ जनप्रतिनिधिको अगुवाइमा खाने पानीको धारामा निरन्तर रुपमा स्वच्छ पानी आएको , बिद्धुत नियमिय भएको ,सामुदायिक विद्धयालयमा गुणस्तरिय पढाइ भएको ,न्युन भन्दा न्युन स्तरका जनताले निशुल्क रुपमा स्वास्थ्योपचारको सुविधा पाएको,सडक तथा बाटा घाटामा रहेका खाल्टा खुल्टी मात्र भने पनि पुरीएको ,कार्यालयहरुमा हुने काम काजमा छिटो छरितो भइ सरलता र सहजता भएको भइ बिकासले फड्को मारेको देख्ने तथा घुसखोरी र भ्रष्टाचारलाइ निर्मुल गरी आधारभुत आबश्यकता परिपुर्ति हुने अभिलासा पनि सबैले गरेकै हुन । त्यसै गरी एक आपसमा हुने बोलीचाली र ब्यबहार, सहयोग र सद्भाव लगायतका थुप्रै कुराहरुमा परिवर्तन आउने पनि आशा गरेकै हुन । सानो तिनो भने पनी रोजगारी आफ्नै स्थानमा प्राप्त हुने अभिलाषा पनि राखे कै हुन । तर त्यस्तो हुन भने सकेको पाइएन । सबै आशा र अभिलाषाहरु वालुवामा पानीहाले सरी भए ।सबै किसिमका जनप्रतिनिधिहरुमा आडम्बर हिजोको जस्तै रह्यो। बोली चाली र भेष भुषा पनि त्यस्तै रह्यो । जनताको आवाज र आबश्यकताको बोध हुन छाड्यो । न  हिजोको आचरण र स्वभाव भन्दा फरक चिन्तन, बिचार र सोच आउन सक्यो। न काम कारवाइमा फरक पना । हिजो जहाँ जहा छाँया र दराज परेको थियो आज पनि त्यहि त्यही छाँया र दराज परेकै छ । चाकरी र चापलुसी यथावत  छन । भक्तहरु सेवामा लागेका लाग्यै छन । सेवा सुविधा र सहुलियत साना र ठूला सबैलाइ चाहिएकै छ । धन र पदको मोह छुटेको छैन । कर ,बल र छलले भने पनि सबै पदहरु आफैले हत्याउन पाए हुने थियो भन्ने भावना झन जल्दो बल्दो रुपमा देखिएको छ ।धन देख्दा महादेवका तीनै नेत्र खुलेकै देखिन्छ ।  चाकडीवाद नाता वाद र कृपावाद अझ मौलाउदो छ । बोल्नेको पिठो बिकी नबोल्नेको चामल पनि नबिक्ने परम्परा यथावत नै छ । पहुचँवालालाइ सबै छुट छ । जनताको आबश्यकता र स्तर तथा क्षमता अनुसारको ऐन नियम र कानून अझ निर्माण भै सकेका छैनन । अन्तर्पार्टी कलह तै नाही की मै नाहि भनि चरम सिमामा पुगेको छ। संघियता र धर्मनिरपेक्षताकै बिषयमै प्रश्न उठ्ने हो की भन्ने भै सकेको छ ।सबै किसिमका राजनैतिक दलहरुमा रहेका गुट उपगुट र विवादहरु यथावतरुपमा सक्रिय छन । केन्द्र देखी तल्लो तह सम्मका आफ्ना संगठनहरुलाइ कुनै पनि दलले अझै पनि पुर्णता दिन सकेका छैनन । न आफ्ना भातृ तथा भगिनी संगठनहरुलाइ ब्यबस्थित र नियमित गराउनै सकेका छन । कर्मचारी र शिक्षक लगायतका पेशागत संघ संस्थामा रहेको राजनीतिले सिमा नाघि सकेको छ । कोही कसैको नियन्त्रण मै छैन । आफ्नो कर्तव्य र दायित्वको बिषयमा कसैलाइ सोच्ने फुर्सदै छैन । आफ्नै सेवा र सुविधा बृद्धि गर्न मात्र ब्यस्त देखिन्छन ।अझ मुलुककै जेठो शहर बेसिशहरमा  बिकास र निर्माणमा भन्दा पनि पद र प्रतिष्ठामा चरम राजनीतिकरण भएको देखिएको छ । क्षमताहोस वा नहोस सबै स्थानमा सके आफै नभए आफ्नै भक्त चाहिने परम्परा यथावत छ। यसैले गर्दा राजनीतिक दलहरुको साख गिर्दो अवस्थामा छ।

 यस्तै यस्तै  मार चपेटा र परम्परागत रुप देखिनै छायामा परेको जिल्ला लमजुङ हो र लमजुङको पनि राजनीतिक पहुँचको अभावमा छायामा परेको र हाल सम्म पनि सक्षम नेतृत्व नपाएको र पहुँच जिल्ला भन्दा बाहिर पुग्न नसकेको शहर हो बेसिशहर । बेसिशहरका जनताले धेरैलाइ उच्च स्थानमा पुर्याए । लाहुरे,शिक्षक, पर्यटक तथा गैर नेतालाइ समेत मन्त्री बनाए ।  नेतृत्व हस्तान्तरणमा पनि सदासयता देखाए , पर्ख र हेरको सिद्धान्त पनि अपनाए तर पनि हाल सम्म पनि न बिस्वाशयोग्य बिकासको पूर्वाधार बन्न सकेका छन न समृद्धिका संकेत । खानेपानीको धाराबाट हिलो मैलो र पातपतिंगर निस्कन्छ तर स्वास्थ्यकार्यालयले स्वस्थ छ भन्छ। , बिद्धुत घण्टामा सयौ पटक आउने जाने गर्दछ विद्युत उपभोक्ता संस्था ठिक छ भन्दछ, स्वर्ण जयन्ति मनाउन पर्ने बेसिशहरको चक्र पथ ले न पुर्णता पाउन सकेको छ न ब्यबस्थित हुन पाएको छ । कैयौ पटक लमजुङका मन्त्री र भु पु मुख्य मन्त्री , तथा संघ र प्रदेशका प्रमुख सचेतक लगायतका साँसद  सगँ यो चक्र पथले निर्वाचनको बेला गरेको प्रति बद्धता सम्झाइ बुझाइ पुर्णता र संचालनको लागि दाँत ङिचंच्याइ सकेको छ तर पनि सुनुवाइ हुन सकेको छैन र नजरमा पर्न पनि सकेको छैन। २०३४ सालमा मुल बजारमा रहेको मुलसडकको बिस्तार गर्ने गरी निर्णय भए पनि आज सम्म पनि कोही कसैले पनि चासो देखाएकै छैनन । सके सम्म त्यलाइ रद्द गर्ने नभए अझ पर लैजाने कोशिस भएको हो की भनि सरोकारवाला हरुले शंका समेत गरि रहेका छन । पुरातात्विक बस्तुको संरक्षण र संबर्धन गर्ने भनी अनेकका भाषणिक हवाला सुनिने गरे पनि नेपालका सबै शहर भन्दा  जेठो शहर को हविगत यस्तो छ ।बेसिशहर नगरपालिका नामाकरण भए पनि नगर पालिका जस्तो बन्न सकेको छैन । न यहाँ सार्वजनिक शौचालयहरु ब्यबस्थित छन न ढलको मर्मतको ब्यबस्था छ ।न बस्तु र सामानको मुल्यमा एकता र बजार व्यबस्थापन  चुस्त तथा  दुरुस्त छ । शिक्षालयहरुको त कुरै नगरौं ।सडकमा परेका खाल्टा खुल्टी यथावत छन। अधुरा योजनाहरु ज्यु का त्यु छन।  कृषि र फलफुलको पनि कागजी बिकास भन्दा केहि भएको छैन। एकदिन मात्र बाहिरबाट नआउने हो भने यहाँ हाहाकार मच्चिन्छ।सबैतिर अस्त ब्यस्तता मात्र देखिन्छ । न यस बिषयमा सरोकारवालाहरु सँग कुनै छलफल नै हुने गरेको छ न सल्लाह। सदरमुकाम घोषणा भएको ५० वर्ष  हुदा पनि सदरमुकाम जस्तो बन्न सकेको छैन । यसलाइ कस्ले र कहिले सदर मुकाम र शहर जस्तो बनाइ देला भनि छाँयामा परेका बेसिशहर बासीले नेतृत्वको खोजी गरी टोलाइ रहेका छन। हेरौं र पर्खौ कुनै समयले सहयोग  गर्ला वा नेता बिहिन छायाँमा परेको शहर बेसिशहर कहिले सम्म  यसरी नै रहला ।  अस्तु . . . .

                                                    बुद्धिसागर बराल

                                                  बेसिशहर , लमजुङ

 मितिः-२०७८/४/१९

 

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |