खोज खबर ३५५
हाम्रो कानून . . . .दान बकस. .
हामिहरुले सधै सुन्दै र
भोग्दै आएका शब्दहरु हुन दान र बकस ।आर्थिकरुपमा
अशक्त र अशहाय तथा दरिद्रलाइ दान दिएमा धर्म हुन्छ र जीवनको अन्त्यमा मोछ प्राप्त
भै बैकुण्ठमा बास भै सुःख र शान्ति सगँ परमधाममा बस्न पाइन्छ भन्ने कहावत पनि
पुराण वा भागवत वाचकहरुबाट सुनी आएकै छौ। आफ्नो गच्छे ले भ्याए सम्म धर्मको लागि
भनि दान पनि गर्दै आएका छौ । इहलोक र परलोकको कुरा तथा मुक्ति र भक्तिका कुराहरु
पनि सुनि आएकै छौ। यो कुरा कति सत्य र कति असत्य छ हाम्रा सनातन देखि चली
आएका र मानी आएका ऐतिहासिक पौराणिक ग्रन्थ
र संस्कार नै जिम्वेवार हुनेछन र यसको
छिनोफानो गर्ने जिम्मा पनि पाठक वर्ग मै छोडौं। अझ यस बिषयमा हाम्रा धर्म
शास्त्रका धरोहर मानिने मनुले ब्याख्या गर्दै भन्दछन दान दिनेले जुन जुन
इच्छा अभिलाषा र कामना बाट जे जे
दान जे जति दिन्छन त्यही त्यही बस्तु त्यति त्यति मात्रामा प्राप्त गर्दछन र जो जसले साकार सहित दान दिन्छ वा लिन्छ ती दुवै
स्वर्ग जान्छन भनी आफ्नो ग्रन्थ मनुस्मृतिमा उल्लेख गरेका छन भने यसै गरी अर्का हाम्रो धर्म शास्त्रका मर्मज्ञ
याज्ञबल्क्यले भने दान लाइ धर्मको साधन मान्दै भनेका छन हिंसा नगर्नु, सत्य बोल्नु ,चोरी
नगर्नु ,पतिब्रता रहनु इन्द्रियलाइ संयम गर्न सक्नु दया र धैर्य धारण गर्न सक्नु नै धर्म हो ।
यिनैको जग वा आधारमा रहि गाइ ,जमिन, तिल, सुन
आदि जस्ता बस्तुहरु सुपात्रलाइ वा विद्यावान र बुद्धिले युक्त वा सम्पन्न तथा
तपस्वी ब्यक्तिलाइ सुम्पनु नै दान हो। यसैबाट धर्म र कल्याण तथा मोक्ष हुन्छ। यदि
बिद्या हिन र तपस्याहिन ब्यक्तिले दान लिएमा वा त्यसतालाइ दिएमा पनि आफु र
दातालाइ पनि नरकमा पार्दछन । फेरी दान दिदा आफ्नो परिवार पालन पोषण गर्न कठिनाइ हुने
गरी दिनु हुदैन । दान दिदा सबैको राजी खुसि र उपस्थितिमा दिनु पर्दछ । त्यसमा पनि
जमिनको दान दिदाँ सबैको सामुन्नेमा स्वःस्फुर्तरुपमा दिनु र लिनु पर्दछ । मनले संकल्प गरिए जति दान दिनु पर्दछ र दिए पछी पुःन
फिर्ता लिन वा अपहरण गर्न पनि हुदैन ।
यिनै र यस्तै यस्तै रिती स्थिती र कुराहरुलाइ आधार बनाउदै र सुधार गर्दै
गर्दै हाम्रा ऐन कानूनहरु निर्माण हुदै गए र आजको अवस्थामा आइ पुगेका हुन । हाम्रो
वर्तमानको मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १० को दफा ४०६ देखि ४१२ सम्ममा
पनि माथि उल्लेखित कुराहरुलाइ आधार बनाउदै दान बकस सम्बन्धि कानूनी ब्यबस्था
गरिएको छ जसलाइ संक्षिप्तमा निम्नानुसार उल्लेख गरिएको छ ।
कुनै
ब्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति कुनै ब्यक्तिलाइ वा धार्मिक सामाजिक
सार्वजनिक वा सामुदायिक कार्यको लागि निःशुल्क रुपमा दिने कार्यलाइ दान मानिन्छ
भने कुनै ब्यक्तिले आफूलाइ पालन पोषण गरी
वा अन्य तवरले रिझाए वापत वा पारिवारिक स्नेह वा अनुरागको कारण आफ्नो हक र
स्वामित्व पुग्ने सम्पत्ति इनाम पुरस्कार वा बक्सिसको रुपमा त्यस्तो व्यक्तिलाइ
निःशुल्क रुपमा दिने कार्यलाइ बकस मानिन्छ । दान वा बकस दिनासाथ
प्रभावकारी हुनेलाइ हालैको दान वा बकस भनिन्छ भने कुनै निश्चित अवधी पछी वा दान
बकस दिने ब्यक्तिको मृत्यु पछी प्रभावकारी हुने गरी दान वा बकस दिन पनि सकिनेछ । यस्तो दान वा
बकसलाइ शेष पछीको बकस भनिन्छ । कुनै खास कामको लागि आयोजना गरिएको सार्वजनिक
समारोहमा कसैले त्यस्तो कामको निमित्त खास रकम वा सम्पत्ति दान दिन उद्घोषण गरी
त्यस्तो रकम दान दिन सक्नेछ तर निजले त्यसरी दान दिएको सम्पत्ति हस्तान्तरण
नगरेकोमा भने कुनै नालिस वा उजुर बाजुर गर्न सकिदैन । यदि कोहि कसैले दिएको दान वा
बकस दान वा बकस पाउने ब्यक्तिले नस्विकारेमा वा दान वा बकस दिने ब्यक्तिभन्दा
अगावै लिने मानिसको मृत्यु भएमा तथा संस्था बिघटन भएमा वा गर्भको शिशुलाइ दान बकस
दिएकोमा त्यस्तो शिशु जीवित रुपमा
नजन्मिएमा र दान वा बकस प्रभावकारी नहुदै
दान वा बकस पाएको सम्पत्ति अस्तित्व नरहने गरी नासिएमा दिएको दान वा बकस स्वत बदर हुन्छ । त्यसै गरी
कोहि कसैले दान वा बकस दिदा आफ्नो हक नपुग्ने सम्पत्ति दिएमा वा कानून बमोजिम अन्य
ब्यक्तिको मञ्जुरी लिन पर्नेमा त्यस्तो ब्यक्तिको मञ्जुरी नलिइ दान वा बकस गरि
दिएमा तथा असक्षम वा अर्ध सक्षम ब्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा र कानूनको
रीत नपुर्याइ सम्पत्ति दान वा बकस दिएमा पनि बदर हुन्छ ।
शेष
पछीको बकस पत्र दिने ब्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफै
उपस्थित भै निवेदन दिइ आफुले गरेको शेष पछीको बकस पत्र संशोधन वा रद्द गराउन सक्ने
छ । यसरी संशोधन वा रद्द गराउदा भने शेष पछिको बकस पत्रको कार्य विधि अवलम्बन
गर्नु पर्दछ । तर एक पटक बकस पत्र गरि दिएको सम्पत्ति रद्द नगरी अर्कोलाइ बकस पत्र
दिन सक्दैन । यदि रद्द नगरी दिएमा पहिलोलाइ दिएको बकस पत्र स्वतःसदर हुन्छ । शेष
पछीको बकस पत्र प्रभावकारी नहुदै शेषपछीको बकस पत्र पाउनेले शेष पछीको बकस पत्र
दिने बिरुद्ध कुनै फौजदारी कसुर गरेको ठहरेमा निजले शेष पछिको बकस पत्र बमोजिमको
सम्पत्ति प्राप्त गर्न भने सक्दैन ।
यस
बिषयमा नालिस गर्ने सम्बन्धमा आफुले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको
मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले
दुइबर्ष भित्र र सो बाहेक अन्य अबस्थामा
यस परिच्छेद बमोजिम भए गरेको काम कारवाहिबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम
कारवाही भए गरेको थाहा पाएको मितिले एक वर्ष भित्र नालिस गर्न सक्दछ । यसरी दान
दिने र लिने कार्यले एक आपसमा भाइचाराको नाता बिकास हुने, सहयोग र सद्भावको बिकास भै कमजोर र अशक्तलाइ पनि
केहि मात्रामा राहत समेत पुगि सामाजिक सहिष्णुताको समेत बिकास तथा धर्म र
संस्कारको समेत जगेर्ना हुने हुदा सुपात्रलाइ मात्र दान बकस गर्ने गरौ तर होशपुर्याएर
।
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मितिः-२०७८/०२/१९