।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, July 21, 2021

 

  खोजखबर ३५२

   हाम्रो कानूनको विशेषता . . .अपुताली

   जसरी यस पृथ्वीमा रहेका यावत जीव जन्तुहरुले आफ्नो स्वयच्छाले सन्तान उत्पादन गर्दछन त्यसै गरी मानिसहरुले पनि आफ्नो इच्छाअनुसार बिबाह बन्धनमा बाधिएर सन्तानउत्पादन गर्न पाउनु प्राकृतिक एवं मौलिक हक हो।यो आफ्नो बंश परम्परालाइ कायम राखि राख्न तथा नयाँ सन्तान र पुरानो बंश विचको समन्वय र संरक्षणको अनुभुति गराउने तथा  नयाँ पुस्तालाइ सम्पत्ति हस्तान्तरण गराउने परम्परागत मुल्य र मान्यता पनि हो ।यसले बंशानुगत रुपमा मानवको बिकासको क्रम वा इतिहासलाइ थप्दै र विकास गर्दै लैजान्छ । अझ हाम्रो हजारौं हजार वर्ष अघी देखी सनातन रुपमा चलि आएको हिन्दु संस्कारमा त सन्तानले आफ्ना बाबा आमालाइ बाचुञ्जेल हेरचाह वा स्याहार संभार गर्ने खान लगाउन दिने र मृत्यु पश्चात आफ्ना पुर्वजलाइ यसलोकवाट परलोक सम्म पुर्याउन सहयोग गर्दछ भन्ने भनाइहरु समेत रहेका छन। यसैका कारण सबै बाबु आमाको चाहना आफ्ना सन्तानहरु गुणिवान र नैतिकवान बनुन भन्ने आशा  हुन्छ । धेरै जसोको आ-आफ्नो चाहना र स्वयच्छिक रुपमा  सन्तान उत्पादन भै रहेका हुन्छन भने कसै कसैको अनैक्क्षिक रुपमा पनि सन्तानउत्पादन भै रहेका हुन्छन । कतिपयको आफ्नै शारीरिक र मानसिक अवस्थाका कारण चाहना हुदा हुदै पनि सन्तान नभएका थुप्रै उदाहरणहरु  छन।जब जब अरुका सन्तानहरुले खाएको हिडेको पढे-लेखेको तथा बाबु र आमा प्रति देखाएको सद्भाव माया ममता र स्नेह देख्दछन उनिहरुमा आत्मग्लानी भएको हुन्छ। सम्पत्तिको अभाव नभए पनि आफुमा केहि न केहि को अभाव भएको महशुस गर्दछन । मानव जीवन मरणशिल छ र मृत्यु पश्चातको अवस्था अज्ञात छ भन्ने जान्दा जान्दै पनि उनिहरु यहि जीवन नै अपुरो र अधुरो भएको महशुस गर्दछन। यस्ता ब्यक्तिको सन्तान नहुदा उसको मृत्यु पश्चात सम्पत्तिको हकवाला कोहि पनि हुदैन । यस्तो हकवाला वा सन्तान नभएको ब्यक्तिको मृत्यु पश्चातको सम्पत्तिलाइ अपुताली परेको सम्पत्ति  भनिन्छ । हालको नेपालको मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ११ को दफा २३७ देखी २५० सम्म मा यस सम्बन्धि ब्यबस्था गरिएको छ । जस अनुसार कुनै ब्यक्तिको मृत्यु भएमा  निजको अपुताली खुला भएको मानिने ब्यबस्था छ । यसरी अपुताली खुला भएमा निजको निम्नानुसारका नजिकको हकवालाले त्यस्तो अपुताली पाउछ ।क. सगोलका पति वा पत्नि ख.सगोलको छोरा छोरी विधवा बुहारी ग.सगोलका बाबु आमा सौतेनी आमा छोरा छोरी तर्फका नाति नातिनी  नातिनी बुहारी  घ.भिन्न भएका पति पत्नी छोरा छोरी बाबु आमा सौतेनी आमा ङ. भिन्न भएका छोरा तर्फका नाति नातिनी च. भिन्न भएका बाजेबज्यै छ. सगोलका जिजु बाजे जिजुबज्यै दाजुभाइ दिदी बहिनी विधवा भाउजु वा भाइ बुहारी ज. सगोलका काका काकी भतिजा भतिजी झ. भिन्न भएका दाजुभाइ दिदी बहिनी  बिधवा भाउजु वा भाइ बुहारी । 

  कुनै ब्यक्तिको यसरी अपुताली खुला भएका बखत माथिको प्राथमिकताक्रममा पहिलो प्राथमिकता क्रममा रहेको व्यक्ति भए सम्म त्यस पछिको प्राथमिकताको क्रममा भएको ब्यक्तिले अपुताली पाउदैन । यदि एउटै प्राथमिकताक्रममा एक भन्दा बढी हकवाला भएमा निजहरु सबैले समान रुपमा अपुताली पाउछन । यदी अपुताली पाउने प्राथमिकताक्रमको कुनै हकवालाले अपुताली लिन नचाहेमा सोहि क्रमका अन्य हकवालाले र त्यस्ता क्रमका कुनै हकवालाले पनि अपुताली लिन नचाहेमा त्यसपछिको क्रमको हकवालाले अपुताली पाउदछ । कुनै ब्यक्ति नजिकको हकवाला हुदा हुदै आफ्नो अंश लिइ टाढाको कुनै हकवाला सँग बसेको अवस्थामा निजको मृत्यु भइ अपुताली खुला भएमा त्यस्तो व्यक्तिको अपुताली त्यसरी सगै बस्ने हकवालाले पाउछ । यसरी नै कुनै ब्यक्तिलाइ निजको हकवालाले स्याहार संभार नगरी टाढाको हकवालाले स्याहार संभार गरेको रहेछ भने निजको अपुताली त्यसरी स्याहार संभार गर्ने हकवालाले पाउदछ। यदी सगोलको हकवालाले स्याहार संभार नगरी कुनै ब्यक्ति आफ्नो अंश लिइ भिन्न बसेको हकवाला सँग  बस्न गएको अवस्थामा मृत्यु भएमा निजको अपुताली त्यसरी पछी बस्न गएका हकवालाले अपुताली पाउछ तर मृतकको स्याहार र संभार कुनै पनि हकवालाले नगरी अन्य ब्यक्तिले गरेको भए त्यस्तो अपुताली त्यहि स्याहार संभार गर्ने ब्यक्तिले पाउँछ । 

 यसरी परेको अपुलाली हकवालाले स्विकार्नै पर्दछ भन्ने चाही छैन । नस्विकारेमा अपुताली परेको तीन वर्ष भित्र जिल्ला अदालतलाइ लिखित रुपमा जानकारी गराउनु पर्दछ । अनि यस पछिका प्राथमिकताका क्रमका हकवालामा अपुताली सर्दछ । तर अपुताली नस्विकारेमा पनि निजले मृतकको रीत परम्परा अनुसार सद्गत भने गर्नु पर्दछ । यदि कसैले कुनै रीस इवी वा अपुताली पाउने बद्ननियतले कसैको ज्यान लिएमा वा लिन लगाएमा त्यसरी ज्यान लिने वा लिन लगाउनेका हकवालाले मृतक वा निजको हकवालाको अपुताली पाउने छैन । अपुताली पाउनको लागि मृतकको रीत परम्परा अनुसार सद्गत तथा किरिया गर्नु गराउनु पर्ने मृतकले लिएको ऋण साहुलाइ भुक्तानी गर्नु पर्ने हुन्छ भने मृतकले दिएको ऋण तथा लगानी गरेको सम्पत्ति पनि निजले पाउछ । यदी कुनै ब्यक्तिको मृत्यु भइ निजको सद्गत तथा किरिया अपुताली पाउने व्यक्ति बाहेक अन्य ब्यक्तिले गरेको भए अपुताली पाउने ब्यक्तिले मृतकको सद्गत तथा किरिया गर्दा लागेको खर्च र त्यस्तो खर्चको थप पच्चिस प्रतिसत रकम त्यसरी सद्गत तथा किरिया गर्ने ब्यक्तिलाइ दिनु पर्दछ  तर कुनै ब्यक्तिले मृतकको सद्गत तथा किरिया आफुले नगरी अन्य ब्यक्ति मार्फत गराउन लगाएको रहेछ भने त्यसरी सद्गत तथा किरिया गर्दा लागेको वास्तविक खर्च मात्र दिन सक्ने छ।

     कुनै ब्यक्तिको अपुताली खुला भएमा र निजको हकवाला नभएमा वा भए पनि अपुताली स्विकार नगरेमा मृतकको सद्गत र किरिया खर्च कटाइ र निजका साहु भए साहुको रकम भुक्तानी गर्दा पनि  सम्पत्ति बाँकी भए त्यस्तो सम्पत्ति सम्बन्धित स्थानिय तहको हुन्छ । यदी कुनै विदेशीको नेपाल भित्र मृत्यु भएको भए र कोहि हकवाला नभएको तर सम्पत्ति भएको भए निजको सद्गत गर्ने वा हर हिसाव राख्ने ब्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त नजिकको स्थानिय निकायलाइ दिनु पर्दछ । अनि स्थानिय निकायले दुइजना साक्षी राखी सम्पत्तिको विवरण तयार पारी त्यसको एक प्रति मुचुल्का सहित सम्बन्धित जिल्लास्तरिय प्रशासनिक कार्यालयमा पठाउनु पर्दछ र त्यस्तो कार्यालयले पनि तुरुन्तै संघिय गृह मन्त्रालयलाइ जानकारी दिनु पर्दछ । गृह मन्त्रालयले पनि सम्बन्धित देशको कुटनीतिक माध्यम मार्फत मृतकको हकवालालाइ चार महिना भित्र मृतकको सम्पत्ति बुझ्न आउन कानून बमोजिम सूचना पठाउनु पर्दछ । यदी कुटनितिक सम्बन्ध नभएको मुलुकको नागरिक भए गृह मन्त्रालयले वेभ साइटमा राख्नु पर्दछ। मृतकको हकवाला आएमा सद्गत खर्च र दशप्रतिसत रकम कटाइ बाँकी रकम हकवाला लाइ दिनु पर्दछ । यदि हकवाला नआएमा त्यो सम्पत्ति स्थानिय तहको हुन्छ। यसरी प्राप् भएको सम्पत्ति स्थानिय तहले सार्वजनिक हितको लागि खर्च गर्नु पर्दछ । यस विषयमा नालिस गर्नु पर्दा अपुताली खुला भएको मितिले तीन वर्ष भित्र गर्न सकिन्छ ।

                                                            बुद्धिसागर बराल

                                                         बेसिशहर ८ लमजुङ

  मिति २०७८।०१।२१

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |