तेस्रो आँखा
मानवलाई मानव बनाउने साधन नै शिक्षा हो । त्यसैले शिक्षालाइ मानवको तेस्रो आँखाको रुपमा पनि
लिइन्छ । जन्म पर्यन्त मृत्यु नभए सम्म मानवले शिक्षा
औपचारिक ‚अनौपचारिक र अनियमित तरिकाले तथा साधारण‚
विशिष्ट‚ प्रत्यक्ष‚ अप्रत्यक्ष ‚ब्यक्तिगत
र सामूहिक तवरले प्राप्त गरि रहेका हुन्छन । शिक्षा र मानवलाइ एक अर्का का पुरकका रुपमा पनि विज्ञहरुले
परिभाषित गरी रहेका छन। शिक्षा बिनाको मानव अधुरो र अपांग हुन्छ। शिक्षाको मुख्य
काम नै मानव भित्र लुकेको अन्तरज्ञानलाइ प्रष्फुटन गरी दिने हो र यो भविष्यको पास
पोर्ट पनि हो। अहिले राम्रो शिक्षा प्राप्त गर्ने हरुको नै भविष्य राम्रो हुन्छ। शिक्षाले मानवमा नैतिकताको बिकास गरी अनैतिक आचरण
र स्वभाव तथा बानी ब्यहोरालाइ समाप्त गरी दिन्छ भने मानवको आत्मा शुद्ध, सफा र शान्त समेत बनाइ दिन्छ ।त्यसै गरी
परिवारमा एकता सहनशिलता र सहयोगको समेत बिकास गरी दिन्छ । समाज
परिवार र अन्य सबै स्थानमा अनुशासन र लगनशिलता तथा परिश्रम गर्ने वानीको
बिकास गराउछ । एक अर्काको सम्मान तथा मान र मर्यादा बिकास गर्नमा पनि सहयोग
पुर्याउदछ । यसले सभ्य समाजको निर्माण गरी बिकास र प्रगति तर्फ उन्मुख पनि गराउछ ।
अपराधमा कमि ल्याइ आपराधिक प्रवृतिलाइ निरुत्साह गराउदछ । विवेकको उपयोग गरी
जिम्वेवारी र उत्तरदायित्वको बिकास गराउछ । मानवलाइ शिष्ट र सरल बन्न मद्धत गर्दछ
। सबैलाइ सत्य र तथ्यको पहिचान गराउन तथा मार्ग निर्देश गर्न मद्धत गर्दछ । अश्लिलता,
अनियमितता, अनेकता, झुठ र
फोहरीपना हटाइ मानवलाइ सफा र स्वच्छ बनाउदछ । त्यसै गरी शिक्षाले स्वाभिमानी स्वाबलम्वी परिश्रमी र मिहिनेती तथा
लगनशिल बनाउदछ ।. आमा र
बाबा तथा परिबारकै आकांक्षा पुरा गरी पारिवारिक नाता र गोता सगँको सम्बन्ध बिकास र
सुमधुर बनाउछ । पेशा र ब्यबसाय तथा रोजगारी को पनि शिक्षाले निश्चितता प्रदान
गर्दछ । बिद्यालय तथा अन्य स्रोतबाट प्राप्त ज्ञान र सिपको उपलब्धि देखाउछ।
शारीरिक र मानसिक अवस्थालाइ सन्तुलन राखी भद्धापन अपांगता र दुर्घटना हुनवाट बचाउछ
। बोली र ब्यबहारमा देखिने संकट हटाइ मेलमिलाप र एकता कायम गरी जातिय र भाषिक
समस्याहल गर्न पनि सहयोग गर्दछ । त्यसै गरी राजनैतिक र आर्थिक समस्या समाधानमा
समेत शिक्षाले महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसरी हेर्दा शिक्षा
मानिसको जन्म देखि मृत्यु पर्यन्त आबश्यक पर्ने र त्यस अवधिमा प्राप्त गरेका
सम्पुर्ण अनुभव ज्ञान गुन र सिप रहेछ भन्न
सकिन्छ । त्यसै गरी शिक्षाले उचित समयमा सहि निर्णय लिन सक्ने असल र खराव
छुट्टयाउन सक्ने बिबेक र बुद्धि प्रदान गर्दै अनुकरणिय र आदर्श तथा नैतिक बन्न र
बनाउन पनि मद्धत गर्दो रहेछ। त्यसै गरी शिक्षा
अनुकुल बाताबरण र हावा पानिमा उम्रने बिजको उर्वर भूमि पनि हो र यसले
मानिसको सर्वांगिण बिकासमा महत्वपूर्ण भुमिका पनि निर्वाह गरी रहन्छ। यसै क्रममा
राजनीतिका पिता मानिने अरस्तुले शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ भनेका छन भने नेलसन
मण्डेलाले शिक्षा एउटा त्यस्तो शसक्त हतियार हो जसले बिश्व बदल्न सक्छ । यसै गरी
चाणक्यले भनेका छन् ज्ञान भन्दा ठूलो अर्को कुनै गुरु हुदैन। गुरु‚ मुर्ख ‚मित्र र स्वजनहरु सित बुद्धिमान ब्यक्तिले ब्यर्थ बिवाद गर्नु हुदैन।
मानिस असल गुण र ज्ञानले उत्तम हुन्छ न की उच्च आसनमा बसेर ‚ महलको छानामा बस्दैमा काग गरुड बन्छ र ? यसै गरी शिक्षाबिद जोन डिवे भन्दछन शिक्षा
जीवनको लागि तयारी होइन यो त स्वयं जिवन हो । भागवत गीता भन्दछ पृथ्विमा ज्ञान
भन्दा शुद्ध अरु केहि छैन। शंकराचार्य भन्दछन- आत्मानुभुति नै शिक्षा हो । अनि
सुकरातले भनेका छन प्रत्येक मानिसको मष्तिष्कमा अदृश्य रुपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाइ प्रकाशमा
ल्याउनु नै शिक्षा हो । यसरी नै भिक्टर ह्युगो ले पनि भनेका छन जसले विद्यालय
खोल्दछ उसले जेलको ढोका बन्द गर्न मद्धत गरी रहेको छ। यी सबै दार्शनिक र
बिद्वानहरुको बिचारलाइ संश्देषण र बिश्लेषण गर्दा के पाइन्छ भने शिक्षा नै मानव
जीवन रहेछ र अशिक्षित मानव पशु समान हुदो रहेछ ।
शिक्षा आर्जन गर्न मार्ग
दर्शन तथा सहयोग गर्ने गराउने वा प्राप्त गराउने तथा मानवलाइ अन्धकारबाट उन्मुख
गरी उज्यालो तर्फ लैजाने ब्यक्तिलाइ शिक्षक वा गुरु भनिन्छ । त्यसै गरी शिक्षा
प्राप्त गराउने स्थान वा घरलाइ गुरुकुल वा विद्यालय महा विद्यालय र विश्व बिद्यालय
भनिन्छ । यो नै मानवको लागि सर्वोत्तम स्थान रहेछ भन्ने बुझी तःत कालिन वा
यसोब्रम्ह शाह कालिन समयको नेपालकै ऐतिहासिक जिल्ला लमजुङ जिल्लाको राजधानी वा रजस्थल
रहेको गाँउशहरको काखमा अवस्थित महत्वपूर्ण स्थान बाहुनबेसिमा बुद्धिजिवि एवं
शिक्षाप्रेमी नरहरी बरालको अगुवाइमा वि.सं. २०१८ साल विजया दशमीको दिनमा लमजुङकै ऐतिहासिक ब्यक्ति यशोव्रम्ह शाहको
नामबाट श्री यशोब्रम्ह प्रा.वि .स्थापना
भै २०१८ साल माघ ७ गते अनुमति प्राप्त गरेको थियो। त्यस बिद्यालयको संचालक समितिका
पहिलो अध्यक्ष हरिप्रसाद धिमिरे थिए । उक्त बिद्यालय २०५८मा नि.मा.वि. भएको थियो
भने बि.सं. २०६७ सालमा मा.वि.मा परिणत भयो । हाल ११ रोपनी क्षेत्रफल भएको जग्गामा
रहेको उक्त बिद्यालयमा ७ वटा भवन र २२ वटा कक्षा कोठा रहेका छन। ऐले आएर यस
विद्यालयले ५९ औं बार्षिक उत्सव तथा ६०औं अभिभावक भेला सम्पन्न गरी नयाँ
ब्यबस्थापन समिति समेत बनी सकेको छ। २५० जना छात्र-छात्रा‚ नीजिमा १ जना‚ राहतमा ४ जना ( ३ जना नि.मा.वि. १ जना मा.वि.)
प्रा.वि. स्थायी ९ जना‚ बाल बिकास मा १ जना ‚ आंशिक १ जना शिक्षक र लेखापाल १ गरी जम्मा १० जना महिला र ७ जना पुरुष गरी १७
जना शिक्षक कर्मचारी र २ जना कार्यालय सहयोगी रहेको उक्त विद्यालयले निकट भविष्यमा
१०+२ र कलेज समेत संचालन गर्ने लक्ष्य लिएको विद्यालय स्रोतबाट जानकारी प्राप्त
भएको छ ।हाल यस विद्यालय परिसरमा कम्पाउण्ड
लगाउने कार्य बाँकी भए पनि अन्य भौतिक पूर्वाधार झण्डै सम्पन्न भै
सकेको छ ।
यस विद्यालयलाइ ऐलेको अबस्थामा ल्याउन यस क्षेत्रका समाजसेवी
बुद्धिजिवि र शिक्षा प्रेमिले खाइ नखाइ चन्दा दान गरी / बटुली संचालन गरि रहेको पाइएको छ । साविक गाँउशहर
गा.वि.स.को वडा नं २ हालको बेसिशहर न.पा. वडा नं ३ मा अवस्थित सदरमुकामको नजिकै
रहेको यस विद्यालयमा हाल सम्म पनि १ जना
मात्र माध्यमिक शिक्षक त्यसमा पनि राहतको भरमा १-१० माध्यमिक कक्षा संचालन गरी
निकट भविस्यमा १०+२ र कलेज संचालन गर्ने
साहस वा लक्ष्य लिएकोमा यस
विद्यालय का वर्तमान ब्यबस्थापन समिति
अभिभावक र शिक्षकहरुलाइ धेरै धेरै धन्यबाद दिइ सफलताको शुभकामना समेत दिन चाहन्छु
। यसै सन्दर्भमा हामी तमाम अभिभावक शिक्षक र ब्यबस्थापन समितिले के बुझ्न आबश्यक छ
भने वर्तमान परिप्रेक्ष्यमा बिद्यालय खोल्न प्रयास गर्नु मात्र ठूलो कुरा होइन
त्यसको सञ्चालन वा कार्यान्वयन सफलता पुर्वक दिर्घकालीन रुपमा गर्न सकिन्छ वा
सकिदैन भनि मनन गरी रहेको हुनु पर्दछ। आफु सगँ के कस्ता साधन र स्रोतको उपलब्धता छन्
र नपुग साधन र स्रोतलाइ के कसरी परिपुर्ति गर्ने भन्ने सोच पहिलेनै निर्माण गरी
सकेको हुनु पर्दछ । अहिले सामान्य रुपमा विचार गर्दा पनि प्रविधि मैत्री नयाँ पाठ्यक्रम
आएको छ। त्यसैले नयाँ प्रविधियुक्त सिप र क्षमता भएका‚ छलछाम र ढाटढुट नगरी इमान्दारि पूर्वक आधुनिक
बिधि र तरिकावाट गुणस्तरिय शिक्षा प्रदान गर्न सक्ने ‚ अनुशासित ‚लगनशिल‚ परिश्रमी र मिहिनेति शिक्षकको आबश्यकता पर्दछ । के त्यस्ता शिक्षक
हामी सगँ उपलब्ध छन् ? के बिद्यालय भवन प्रविधि मैत्री छ ? आबश्यक साधन स्रोतको ब्यबस्थापन गर्न सक्ने
आर्थिक क्षमता बिद्यालय सगँ छ? के रात दिन पनि नभनी बिना पक्षपात बिना पूर्वाग्रहि
वनी बिद्यालयको प्रगति र उन्नतिमा ध्यान दिन सक्ने ब्यबस्थापन समिति छ र यी सबै
साधन र स्रोतलाइ धान्न सक्ने बिद्यार्थी संख्या छ ? के जस्तो सुकै
परिस्थिति भए पनि हामी बिद्यालयलाइ अग्रगामी बनाएरै छोडछौ भन्ने कटिबद्ध अभिभावकहरु छन् ? यदि यि सबैको एकाकार सहयोग र सम्मति हुन सक्यो
भने मात्र विद्यालयले गति लिन सक्दछ नत्र त परिश्रम र मिहिनेतको फल खेर जान पनि
सक्दछ । सर्वप्रथम यि कुराहरुमा ध्यान दिदा उत्तम हुने देखिन्छ। साथै सदरमुकाम कै
सेरोफेरोमा रहेको यस बिद्यालयमा मा.वि. कक्षा संचालन गरेको १० वर्ष पुग्न लागि सक्दा
पनि १ जना मात्र राहत मा.वि. शिक्षक
उपलब्ध गराएकोमा स्थानिय तह वा बेसिशहर न.पा.को समेत ध्यान नपुगेको हो की
भन्ने तर्क पनि अगाडी देखिन्छ भने यस अघिका ब्यबस्थापन समितिले पनि ध्यान
केन्द्रित गर्न नसकेको देखिन्छ । त्यसैले हाल सालै गठन भएको व्यबस्थापन समितिले
पक्कै पनि यी र यस्ता कुराहरुमा ध्यान पुर्याइ यस क्षेत्रकै नमूना बिद्यालय
बनाउनमा ध्यान पुर्याउने छ भन्ने आशा गरेको छु । चाहेमा र आँटेमा पुरा हुन नसक्ने
केहि छैन। सुरुमा सबै बिद्यालयहरुको अवस्था यस्तै थियो ।
यस ऐतिहासिक बिद्यालयले भविष्यमा गुणस्तरिय शिक्षा
प्रदान गरी शिक्षाको ज्योति फैलाउन तथा मानवमा तेस्रो आँखा थप्न बिद्यालयलाइ
अपग्रेड गर्दै महाविद्यालय बनाउने जस्तो महान लक्ष्यका साथ अघि बढेकोमा समस्त
बिद्यालय परिवार लाइ धन्यवाद दिदै सफलताको शुभ कामना ब्यक्त गर्दछु । अस्तु . ....
.
बुद्धिसागर बराल
सदस्य‚
बेसिशहर न.पा नगर शिक्षा समिति
लमजुङ
मित-२०७७/१०/२४