।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Tuesday, January 5, 2021

 

  खोज खबर ३३९

                                    गोठालाले

 

 नेपालमा भएको वि.सं. २०४६ सालको जन आन्दोलनका कमाण्डर प्रजातन्त्रका सेनानी एवं नेपाली कांग्रेस पार्टीका त्यागी र सर्बोच्च नेता गणेश मान सिंहले एक पल्ट भन्नु भएको थियो  जन्ता भनेका भेडा जस्तै हुन । यस्तै यस्तै बिचार ब्यक्त गरे वापत उहाले जीवनको उत्तरार्धमा जीवन भर गरेको राजनीतिलाइ परित्याग गर्नु परेको थियो ।गोठालाले जता जता लैजाने इशारा गर्यो भेडाहरु त्यतै त्यतै लाग्दछन। लाने र जाने ठाउँ राम्रोहोस वा नराम्रो। सुविधा हुने होस वा नहोस उनिहरुमा कुनै चिन्ता र चिन्तन हुदैन। अगाडी हिडने गएर भिरबाट हाम फाली हाल्यो भने पनि अरु पनि हामफाल्न तयार हुन्छन र भडखालोमा जाकिन पनि बेर लाग्दैन ।  यो कुरा साच्चिनै यथार्थमा अडेको रहेछ । राजनीतिमा त यसले झन यथेष्ट स्थान ग्रहण गर्दो रहेछ।  जे  जे बाहुन बाजे उहि उहि स्वाहा। आन्तरिक  र वास्तविक कुराको पहिचान विनै  जन्ताहरु शक्तिको पछि पछी लागि हुर्य र जिन्दावादको नारा लगाउदै हिडेको देखेर उहाले यो कुरा बढो परिपक्वताका साथ सोच बिचार र ब्यबहारबाट खारिएर भन्नु भएको रहेछ ।  बिश्वमा घटेका ठूला ठूला घटना र परिघटनाहरुलाइ हेरेर । मानिसहरु पनि भेडाले झै अघि र पछी हेर्न सक्दा रहेन छन ।लागु पदार्थको नशा लागे झै गरी एकोहोरिदा पनि रहेछन । बिना चिन्तन । बरु पशुहरुको राजा भनौ वा नेता सिंह उसले अघी र पछी हेरेर मात्र अघी बढछ वा हिडछ। जसलाइ हामी सिंहावलोकन पनि भन्दछौ। यहि उदाहरण दिएर हामी अरुलाइ अर्ति उपदेश पनि दिन्छौ । नैतिकवान र आदर्शवान पनि बन्दछौ । तर आफुले गरेको ब्यबहार र आचरण प्रति पटक्कै ख्याल गर्दैनौ। आफुले गरेका गल्ति र कमजोरीलाइ लुकाउन खोज्छौ र अरुका कमी र कमजोरीलाइ सके सम्म उदिनेर छताछुल्य पारी आफु साखिल्य बन्ने प्रयास गर्दछौ । के कस्ता कठिन भन्दा कठिन खोल्सा खोल्सी नदीनालाहरु तरेर र पहाडहरु उक्लेर कसरी आफू त्यहा पुगेको हो । तेतिबेला क-कस्ले सहयोग वा असहयोग गरेका थिए किन र कसरी  भन्ने अतितका घटनाहरुलाइ पटक्कै बिर्से झै गरी ऐले साखिल्य बनेको देख्ने र भोग्नेले के भनेका होलान भन्ने पनि लाग्दो रहेनछ । मुतको न्यानो भए पुग्दो रहेछ अवसरवादीलाइ । यस बिषयमा थप चिन्तन र मनन गर्नै नपर्ने ।बरु कसरी स्वार्थ पुरा गर्न सकिन्छ भनि मामाको काँखमा बसेर आमाको अपव्याख्यान गरि रहेका छौ । आफु र आफ्नैलाइ नांगै पारी खुइल्याइ रहेको पनि थाहा पाँउदैनौ। भाइ फुटदा गवाँर लुटिएको र मानवता हराएको मानव मा परिवर्तन हुदा पनि पत्तै छैन । तथाकथित रुपमा सुन्नै र देख्नै नसकिने गरी राजनीतिलाइ फोहोरी खेल बनाउदै झुट र फुटको नारा सहित अमर्यादित गाली गलौज गरी रहेका छौ ।जसको ढाडमा टेकेर काँधमा पुगेका हौं उसैलाइ बेकुफ बनाइ रहेका छौं। आफैले आफैलाइ अपमान गरी रहेका छौं। अहिले आफ्नो हातमा रहेका शस्त्र र अस्त्र सधैका लागि होइनन भन्ने सम्मको लागि ज्ञान नभए झै गरी शस्त्र र अस्त्रको डर धाक र धम्की तथा प्रलोभन देखाइ रहेका छौ ।यसरी सडकमा हिडेका जन्ता र मञ्चमा गर्जने नेताको अबस्था देख्दा ताजुव लाग्दछ । अझ जो चोर उसैको ठूलो स्वरको त कुरै नगरौं ।यी कुराहरुको मजवुन खिच्दा र कटु सत्यको रुपमा भन्नु पर्दा पक्कै पनि सत्य र तथ्यको  यहाँ बास  हुने गरेको रहेनछ।  यहाँ  एकातिर कोरोनाको कहर अर्कोतिर शित लहर ।ढिला सुस्ति अभाव र महंगी । पल पलमा असुरक्षा र भ्रष्टाचार । गरिवीको रेखा भन्दा पनि तल रहेका गिठा र भ्याकुरको भरमा जिवन चलाएका नांगा र भोका तथा उपचारको लागि सिटामोल सम्म खान नपाएका जन्ता देख्दा  सबैलाइ दिगदार त लागेकै छ। झन ताजुब त के मा लाग्दछ भने  जन्ताको नाममा झोली थापेर ल्याएको रकम आफ्ना आसे र पासेलाइ अनुत्पादक रुपमा परेवालाइ चौरमा कनिका छरेझै गरी बाडेको देख्दा र त्यसै गरी जन्ताको नाममा नेपालको राजनीतिमा हुने गरेको दुषित बिचार र भ्रष्टाचार देख्दा सबैको पेट पोल्नु त स्वभाविकै देखिएको छ।  जे भए पनि हामी भन्ने मात्र भइयो गर्न नसके पनि ।

 राजनीति भन्नु नै मुलुक संचालन गर्ने नीति हो । यो उद्ध्येश्य मुलक स्पष्ट र सर्वमान्य हुनु पर्दछ।  जन हितकारी र जन्ताले बिश्वास गर्न योग्य हुनु पर्दछ। पारदर्शि र र स्वच्छ पनि हुनु पर्दछ । सबैभन्दा महत्वपूर्णकुरा यसलाइ परिचालन वा व्यबस्थापन गर्न तम्सिने मानव  बढो इमान्दार र विबेकशिल हुनु पर्दछ। सोच बिचार गरी काम गर्ने एक आपसमा छलफल तथा बिचार विमर्शबाट निर्णय लिने र चिन्तनशिल रहने हुनुपर्दछ। हतियार हातमा छ भन्दैमा जहाँ पायो त्यहि प्रयोग गर्ने हुनु हुदैन । हतियारको प्रयोग गर्न नजानेमा आफैमाथि जाइ लाग्न सक्दछ भन्ने जान्ने नेता पनि हुनु पर्दछ।

 हाम्रा २१शौं शताब्दिका  हुँकार वादी नेताले फ्रान्समा १९शौं शताब्दिका महानायक ठहरिने र युरोपमहादेशलाइ नै दवदबामा राख्न सफल भएका नेपोलियनबोनापार्टले जिवनको अन्तिम समयमा ६ वर्ष सम्म नजरबन्दमा रहि  जिवन बिताएको त्यसै गरी बिश्व साम्राज्यको कल्पना गर्ने अधिनायकबादका धनी जर्मनको नाजी पार्टीका नेता एडोल्फहिटलर आफैले आत्महत्या गर्नु परेको नेपालका तत्कालिन मुख्तियार भिमसेन थापाको मृत्यु र कार्लमाक्सका अनुयायी महान अक्टुवर समाजवादी क्रान्तिका नायक बिश्व सर्वहारा वर्गका महान नेता तथा दर्शन शास्त्र राजनितिक अर्थशास्त्र र बैज्ञानिक समाजबादका प्रवर्तक मानिने ‚“एक पाइला अगाडी र दुइपाइला पछाडी भन्ने पुस्तक लेखि बिश्वकमुनिष्ट आन्दोलनका महान नेता ठहरिएका लेनिनले सृजना गरेको अत्यन्त ब्यबस्थित ततःकालिन सोभियत संघ समेतको बिघटनको इतिहास बुझेकै हुनु पर्दछ। तर अहिलेको अवस्थाले त के देखायो भने स्पष्ट देखि रहेको कुरालाइ पनि देखेको छैन र जानेको कुरालाइ पनि जानेको छैन भनि दिए पुग्ने भएको छ। यस्तो परिपाटीले भोलिका दिनमा मुलुकलाइ कहा पुर्याउला। जन्ताको अवस्था कस्तो होला । बिश्व रंग मंचमा यसले कस्तो शन्देस जाला । आन्द्रा भुडी नै बाहिर निकाली पाँडे गाली गरी झगडा गर्न थाले पछी। को मित्र र को शत्रु हो  भन्ने अलिकती पनि सोच गर्न नसक्नु भनेको कति सम्मको कमजोरी । भोलीका दिनमा जनताले अबश्य पनि बिचार गर्ने नै छन । किनकी जन्तालाइ जनार्दन भन्ने गरिएकै छ।

 अस्तु. ...

 बुद्धिसागर बराल

 बेसिशहर ८ लमजुङ ।                                  मितिः-२०७७/९/२१

Share:

Related Posts:

स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

1205
Copyright © 2025 श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |