।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Tuesday, January 21, 2020

               बेसिशहरको सेराको चौतारो  ऐतिहासिक धरोहर
   सेरा भन्ने स्थान मैले धेरै ठाउँमा देखेको र सुनेको पनि छु । समतल र फराकिलो जमिन भएको स्थानलाइ सेरा भनिने गरेको रहेछ । यस्तै स्थान बेसिशहरमा पनि परम्परागत रुपमा रहेकोले त्यसलाइ सेरा भनिने गरेको रहेछ । त्यहा एउटा चौतारो रहेको थियो र जुन ऐले पनि अलिकती परिबर्तित रुपमा छदैछ । त्यो सेराको चौतारो चाही हाल लमजुङ जिल्लाको सदर मुकाम  बेसिशहर नगर पालिका वडा नं ८ मा पर्ने र सामान्यतया बाहिरबाट लमजुङ जिल्लाको सदर मुकाममा प्रवेश गर्ने ढोका वा बसहरु रोक्ने  स्थानको रुपमा परिचित छ । बेसिशहरको सबै भन्दा बढी मानिसहरुको साथै गाडीहरुको ओहोर दोहर तथा आवत र जावत गर्ने तथा जमघट हुने र  चौबाटो समेत परेको हुदा ऐले आएर ट्राफिक  प्रहरी पनि रहने गरेका छन ।जसरी मानिसहरु भेटघाट हुने स्थानको रुपमा काठमाण्डौको न्युरोडको पिपल बोट तथा पोखराको महेन्द्रपुल भनेर चिनिन्छ त्यसै गरी लमजुङको बेसिशहरमा पनि   साथीभाइहरुको भेटघाटको लागि वा फरक फरक किसिमका मानिसहरुको छलफल बातचित र भेटघाटको लागि यहि सेराको चौतारो प्रसिद्ध छ ।  अहिले  यसको वरपर फरक फरक किसिमका मानिसहरुको बसोबास छ । बेसिशहर कै बढी जन घनत्व भएकोले होटल तथा लजहरु पनि प्रशस्त मात्रामा रहेका छन। अझ अन्न पूर्ण पदमार्गको मुल गेट भएको कारणले बिदेशी पर्यटकहरु पनि बढी मात्रामा देखिन्छन। अन्य मानिसहरुको चहल पहल पनि बढी नै छ । बजार ब्यबस्थापन त्यति राम्रो नभए पनि आबश्यक माल सामानहरु भने किनबेच गर्न पाइन्छन । यहाँ बाट उत्तर तर्फ हेर्दा हिमाल सगै टासिएको हो की  जस्तो भै बेसिशहरको प्रसिद्ध  लक्ष्मी नारायणको मन्दिर देखिन्छ भने दक्षिण पश्चिम तर्फ हेर्दा गाँउशहर दरबार एवं लमजुङ कालिका को मन्दिर देखिन्छ । त्यहा जानको लागी यसै चौराताको नगिचै बाट लमजुङ उद्योग बाणिज्य संघको अगुवाइ मा सुरु भएको र हाल बेसिशहर नगर पालिकाको पहलमा करोडौ लगानी गर्ने योजना  गरी अत्यन्त आकर्षक र आधुनिक सिढीको निर्माण गर्ने लक्ष्य रहेको छ ।  झण्डै पौने एक किलो मिटर जति सिढी निर्माण पनि भै सकेको छ । जसको कारणले गाउँ शहरको काउले पानीमा रहेको होम स्टे लाइ सहयोग पुर्याउने आशा पनि लिइएको छ । गाउँशहरमा रहेकको यो दरबार सर्व प्रथम लमजुङका तःतकालिन राजा यसोब्रम्ह शाहले निर्माण गरी गर्मीको समयमा त्यहि  र जाडोको समयमा बेसिशहरको फुलबारीमा भएको दरबारमा रहि राज्य संचालन गर्दथे भन्ने भनाइहरु सुनिदै आएको छ । बेसिशहरको दरबार हालको प्रहरी कार्यालय भएको स्थानमा भएको कुरा प्रहरी कार्यालयको भवन निर्माण गर्न जग खन्दा निस्केका भग्नावसेशहरुबाट स्पष्ट भएको हो । त्यसै गरी सेराको चौताराको पूर्व तिर चौरासी र दनै फाँट नाम गरेका अत्यन्त मलिला  उब्जाउ हुने  समतल फाँटहरु रहेका छन ।यसै फाँटको अन्त्यमा मलामी चौर नामक सार्वजनिक स्थान रहेको छ र हाल त्यहा बेसिशहर नगर पालिकाको  पहलमा अठार लाख भन्दा पनि बढी रुपिया लगानी गरी अत्यन्त आकर्षक पार्क निर्माण गर्ने योजना छ र काम पनि सुरु भै सकेको छ । त्यसको नगिचै कर्पुरेश्वर महादेबको अत्यन्त आकर्षक र लोभै लाग्दो मन्दिर पनि रहेको छ । जसमा नेपालीका सबै किसिमका चाड पर्व हरुमा भक्तजनहरुको घुइचो लाग्दछ । यसै चौताराको पस्चिम तर्फको अत्यनतै समथर भूमी रहेको छ जसलाइ वास्तविक रुपमा सेरा भनेर स्थानियहरुले भन्ने गरेको पाइन्छ । 
   यसै सेराको चौतारामा  यहि २०७४ साल मार्ग १७ गते दिनको ३ बजे  यस स्तम्भकार कुनै आफ्ना एक मित्रलाइ भेटन पर्खी रहदा चौतारा को बिच तिर गाढेको एक पथ्थरमा शिलालेख देखियो । त्यहाँ लेखिएका अक्षरहरु नबुझने किसिमका रहेछन । अनि त्यहा भएका दुइ तिन जना मित्रत्रहरु सगँ सोधखोज गर्दा पनि अक्षर बुझ्न सकिएन । शिलालेख ऐतिहासिक देखिए पनि ती अक्षर बुझने र त्यो चौताराको निर्माणको बिषयमा बुझने र जान्ने मानिसको बिषयमा खोज तलास गर्न मन लाग्यो । अनि नगिचै रहेका र प्रत्येक दिन त्यहि उपस्थित रहने गरेका झण्डै ८० बर्ष उमेर वरपरका बृष बहादुर पौडेल सगँ सोद्धा यस बिषयका जानिफकार हाल ९० वर्ष पुगेका  यहिका स्थानिय कमल बहादुर पौडेल हुनु हुन्छ म वहालाइ खवर गरी दिउला  । भोली यस  सम्बन्धी  वास्तबिक जानकारी लिन उपयुक्त हुन्छ भन्ने सल्लाह  दिनु भए अनुसार  भोली पल्ट कमल बहादुर पौडेल सगँ सोध्दा यो एक ऐतिहासिक चौताराको रुपमा पाइयो । उहाँको भनाइ अनुसार  उहाँकै आज भन्दा पाँच ५ पुस्ता अघी वा वि.सं. १८४० भन्दा पनि अगाडी लमजुङ कै भोर्लेटारबाट धर्माकर  नामका पौडेल हालको भलुवाटार नाम गरेको बेसिशहर न.पा. ७ मा पर्ने देबी दास पौडेलको घर भएको ठाँउमा आइ घर बनाइ बसेका रहेछन । उनका काशि नाथ र कृष्णा नन्द नाम गरेका दुइ भाइ छोराहरु रहेछन । काशी नाथ अली पढे गुनेका हुदा जजमानी गरी आर्थिक उपार्जन गर्ने रहेछन भने कृष्णा नन्द नपढेका हुदा सातबिसे भन्ने स्थानमा बस्तुभाउ पाली गोठालाको रुपमा काम गर्दै आएका रहेछन । गोठाला भएकाले आफुले तयार पारेको मोही तथा दही यताउता ल्याउने र लैजाने  गर्दा रहेछन । जसले गर्दा उनको खासै आय आर्जन नहुने गरेको देखी भाउजु वा काशी नाथकी श्री मती ले अली अवहेलना गर्ने गर्दी रहिछन । यो कुरा कृष्णा नन्दकी श्री मतीले बिचार गरी रहेकी रहिछन  र नपढेको भनी आफ्ना श्री मानलाइ गाली गलोज पनी गर्ने गर्दी रहेछन । यस बिषयमा उनी अली  बाठी टाठी र चलाख पनि रहिछन । अनि आफ्ना श्री मान लाइ दाजु सग गएर पढन भन्दा दाजु काशी नाथले क ख पनि सिकाइ दिएनछन  । अनि कृष्णा नन्द की श्री मती ले  यता उता गरी ७ मोहोर दाम खोजेर ल्याइ काठमाण्डौ पढन पठाइछन । कृष्णानन्दले १ बर्ष सम्म काठमाणडौमा अध्ययन गरी घर फर्कने क्रममा जीतपुर भन्ने स्थानमा बास बसेछन । भोली पल्ट बिहान उठी पक्का ब्राम्हणको रुपमा नुहाइ धुवाइ गरी धोती  पाटो फेरी धरो काँधमा हाली स्तोत्र पाठ गर्दै हिडदै गर्दा लमजुङ दरबारका भारदारी भएका भक्ति थापाले झ्यालबाट उनलाइ देखेछन र बोलाउन मान्छे पठाएछन । अनि घर कहाँ हो भनि सोधेछन। यो देखी उनि डराएर झस्के छन पनि । पछि भक्तिथापाले मेरो घर पनि लमजुङ नै हो डराउनु पर्दैन भने पछी उनि अलि समालिए छन । अनि भक्ति थापाले घर ऐले जाने होइन नेपाली सेना सगँ लडन जाने हो भनि तुरुन्तै सेनामा भर्ती गरी भाला र खुकुरी समेत दिइ पर्वतका काजी बल भञ्जन मल्लको नेतृत्वमा लमजुङे समेत सम्मिलित भै संयुक्त रुपमा बि.सं.१८४० मा नेपाली सेना सगँ भिडन्त हुदा धेरै बिरोधीलाइ हताहत गर्न सफल भएछन । तर बलि भंजन मल्ल र भक्ति थापा भने पक्क्राउ परी काठमाण्डौ चलान  भएछन। यसरी काठमाण्डौ जाने क्रममा बलिभञ्जन मल्लको गाइखुर मा पुगे पछि मृत्यु भएछ । घाइते अवस्था बाट स्वस्थ भए पछी भक्ति थापाले पनि नेपाली सेना मै रहि काम गर्ने इच्छा ब्यक्त गरेछन । त्यहि रहि भक्ति थापाले सिपाही देखी सरदार सम्म भएका रहेछन । यसरी भक्ती थापाको पुरुषार्थ बाट खुसी भएर तःतकालिन राजाले उनलाइ एकदिन भरी उनले हिडेर घुम्न सक्ने जग्गा हालको रागिनासमा बिर्ता दिएछन । कृष्णा नन्दलाइ पनि मेजरको पदवी र धेरै रुपियाँ दिएर घर जा भनी पठाइ दिएछन । उनिले उदिपुरमा आइ सके पछी कालिकालाइ एउटा नगरा किनेर चढाए छन ।  बेसिशहर मा आएर हालको सेरा चौतारो भएको स्थानमा बिसौना मात्र भएकोले त्यहि भारी बिसाए छन  र आफनी बुढी वा श्री मती लाइ बोलाउन पठाए छन । बुढी आएर भेट गर्दा बुढीको अवस्था ज्यादै दयनिय देख्दा भक्कानियर एक आपसमा आँशु झारेका थिए अरे दुबैले। किनकी कृष्णा नन्द पढन गए पछी काशी नाथले बुहारीलाइ यसैले हो भाइलाइ पढन पठाएकी भनी अवहेलना  तथा गाली गलोज गरी घरबाट निकाली दिए छन । अनी कृष्णा नन्दकी बुढी भलुवाटार मै अली पल्तिर ससेको वारी भन्ने स्थानमा एउटा सानो झुपडी वनाइ हाल बेसिशहरका लागि खाने पानीको टंकी बनाइएको स्थान नगिचै रहेको काजीबारी भन्ने स्थानमा बढो गजगजिएर वा जिमि जग्गाले सम्पन्न भएर बसेको र प्रत्येक दिन एक पल्ट  सेतो दौरा रसुरुवाल लगाएर आफ्नो जग्गा घुम्ने तर छोरा छोरीहरु भने नभएका काजी मेहर मानको घरमा कामकाज तथा उनैको स्याहार संभार गरी जीवन बिताइ रहेकी  रहिछन ।   यो सुन्दा कृष्णा नन्द ज्यादै दुखित भएछन र दाजुको मुखै नहेरी घरै न गै सबैकुरा छोडेर अन्यत्रै जाने बिचार गरेछन । त्यसै क्रममा उनले गाँउ शहर कालिका को मन्दिरमा एउटा ठुलो घण्टा चढाउने बिचार गरी घण्टा चढाउन केहि ब्यक्ति पठाइ उनिहरुलाइ पर्खी रहेको अवस्थामा  काजी मेहर सिंह आफ्नो चौरासी सेरा आदि खेत घुम्दै त्यही भारी बिसाइ रहेको स्थानमा आइ पुगेछन । एक आपसमा बातचित मार्दा कृष्णा नन्द दाजुको मुखै नहेरी त्यहिबाट फर्कन लागेको देखी काजी ले तपाइ जस्तो मान्छे यहाबाट जान हुदैन। गै हाले पनि आज नजाउ पर्ख भोली जाउला । आजलाइ मेरो घर तर्फ हिड भनेछन । अनि भोली पल्ट काजीले यो देउपुजेको डाँडोले छेक्छ दाजुको मुख हेर्न पर्दैन तिमीलाइ बस्न यहानेर उचित हुन्छ भनी हालको कमल बहादुर पौडेलको पुरानो घरको अगाडी रहेको हालको भद्र बहादुर घिमिरे खत्रीको जिजु हिमकर्ने खत्रीको घुमाउने घर भएको ठाउमा कृष्णा नन्दलाइ बस्ने ब्यबस्था गरी  अली माथी आफ्नै जग्गामा भद्बहादुर खत्रीका जिजुलाइ बस्ने ब्यबस्था काजीले मिलाए छन जहा ऐले सम्म पनि पाचौं पुस्ता मानिने भद्र बहादुर खत्री बसि रहेकै छन ।
    अनी  कृष्णा नन्द सगँ धेरै रकम भएको बुझी  काजीले हालको सेराको चौतारा मुनी रहेको उसैको ८४ मुरी खेत भए तिमीलाइ हुन्छ की हुदैन भनी सोधेछ । कृष्णा नन्दले हुन्छ भने पछी कुलो नभएता पनि आफ्नै सेराको खेतको बिचबाट एकहल गोरु नारी जोतेर कुलो पनि निकाली दिएछ जुन ऐले सम्म पनि यथावत छ । यस पछी वल्ल कृष्णा नन्दले  आफ्नो ८४ मुरी खेतको शिरान वा आफुले पहिले आएर भारी बिसाएको ठाँउमा चौतारो बनाएका रहेछन जसलाइ हामी आजकल सेराको चौतारो भनिन्छ । यसमा दुइ तिन बर्ष अघी सम्म ततकालिन अबस्थामा नै वा ऐलेका कमल बहादुर पौडेल को पाचौं पुस्ता अगाडी सारेको वा झण्डै २३४ वर्ष पुरानो ठूलो पिपलको रुख थियो । जुन रुख बजार बिस्तारको क्रममा वरपरका छर छिमेकले ह्याँगा र पिगा काटन लगाउदा लगाउदै समाप्त भएको थियो । यसरी  यो चौताराले २३४ वर्ष अघि देखिको लमजुङ कै इतिहास बोकेको हुदा यस्तो ऐतिहासिक धरोहरलाइ संरक्षण र ब्यबस्थित गर्नु हामी सबैको कर्तव्य हैन र ?  अस्तु
                                                                                बुद्धिसागर बराल
                                                                             बेसिशहर ८ लमजुङ
 मितिः- २०७४ मार्ग २७ गते रोज ४ शूभम्. . . .  . . . .. .  . .
   

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |