।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Thursday, June 25, 2020

                                                                 मेरा जिन्दगीका पानाहरु 
     बिहान  सबेरै उठी आफ्ना नित्य कर्म गरी आज दिन भर सम्पन्न गर्ने कार्य सम्बन्धमा बिचार र सोचँ गरी रहेको थिए। त्यती बेलै मलाइ सम्झना आयो साच्चिनै जिन्दगी एउटा किताबको पाना जस्तै रहेछ । प्रत्येक पटक आउने दिन र रात त्यसै गरी आउने बार महिना र वर्षले पुस्तकको पाना  शिर्षक र परिच्छेद संकेत गरी रहेको हुदो रहेछ । जसरी पुस्तकको अर्को पाना फर्कदा अब के होला भन्ने लाग्दथ्यो त्यसै गरी प्रत्येक दिन आउदा भोली के होला ? कसो होला? यस्तो गरौंला उस्तो गरौंला सोचेको लक्ष र उद्ध्येश्य पुरा होला नहोला ।कोही कसैबाट अवरोध आउला नआउला  भन्ने जिज्ञासा हुदा हुदै आज ६५वर्ष बिति सकेछन। कपाल फुलेर पनि खुइली सक्यो तै पनी भरे र भोलिको पर्खाइ भने टुट्दो रहेन छ । शरिर काम गर्दा गर्दा क्षीण हुन लागि सक्यो। कति पय अंग र प्रत्यंग हरुले त काम गर्न पनि छोडी सके। आफुले देखे र चिनेका मानिस जति अस्ताउन लागि सके। कसैले पनि यहाँ बाट केहि पनि लगेको थाहाछैन । तर मन भने अझै पनि थाकेको छैन । खुट्टा चलिन्जेल र हातले लात नहान्जेल आजै केहि नगरी के त्यसै बस्ने त । परिवार घर समुदाय  समाज र राज्यको कृयाकलाप हेर्यो समय र परिस्थिति बुझ्यो चित्तै बुझ्दैन। जता हेर्यो त्यतै बिग्रिएको र लथालिंग भएको मात्र देखिन्छ। बोली र व्यबहारमा समानता छैन। सेवावाद र भनसुनवादले मुलुक आक्रान्त छ। भ्रष्टाचारवादीको त कुरै नगरौ । प्रत्येक कर्मचारी र नेताको कोष कोषमा कोरोना भाइरसले जस्तै पद र पैसाले मात्र बास गरेका छन । सबै आफ्नै दुनो सोझ्याउनेमा मात्र ब्यस्त छन । कता कता अभावै अभाव भएको मात्र महशुस हुन्छ। चिन्तन मनन अध्ययन र अनुसन्धान लगायत सबै कुराले सम्पन्न भएको देखिदैन।प्रत्येक निर्णय सतहमा गरिन्छ। अझ पनि यो गर्न पाए हुन्थ्यो उ गर्न पाए हुन्थ्यो सन्तानको लागि यति सम्पत्ति जोर्न पाए हुन्थ्यो समाजको लागि यो यो गर्न तथा मुलुकको लागि यी कार्य गर्न पाए हुन्थ्यो। ठुला ठुला  मान पदवी र अलंकार तथा पद र प्रतिष्ठा लिन पाए हुन्थ्यो भनि तन्किन खोजी रहेको देख्दा मानिसको जीवनलाइ सदाका लागि दुःख पिडा र कष्ट दिने भनेको आफ्नै मन नै रहेछ। अरु कोहि पनि होइन रहेछ भन्ने निश्चित भयो ।पारिवारिक क्षेत्रमा जसरी तसरी खान लाउन र बस्नको लागि सामान्य ब्यबस्था नभएको भने होइन। सन्तोष लिदा खासै फरक पर्ने पनि छैन । तर पनि सुत्दा होस वा उठदा होस मनमा अनेक किसिमका तर्क र वितर्कहरु उम्ली रहन्छन। आफु जन्मे देखि र हाल सम्म जानकारीमा आएका  घटना  आफ्ना पुर्खा बाबा आमा दाजु भाइ इष्टमित्र नाता कुटुम्ब छर छिमेकको साथै साथिभाइ तथा सहयात्रीको संझना आउछ। सबैले गरेका र घटाएका घटनाको एक एक गरी याद आउछ । कहिले तिनीहरु सगँ मनमनै बेसरी रिसाएर मुर्मुराउने गरिन्छ भने कहिले कोहिबाट भएको वा सहयोग गरेकोमा खुसी पनि भइन्छ । समय र दिन सधै आफ्नै पक्षमा मात्र हुदो रहेनछ। कहिले माथि पुगिदो रहेछ त कहिले तल। कहिले रुप रंग र यौवनले परिपूर्ण त कहिले गला र कलाले परिपुर्ण भइने रहेछ। तर पछिल्लो समयमा आएर सबै सिंह पनि स्याल बन्नु पर्ने रहेछ  र बनि रहेका आफ्नै आखाँले देखि पनि रहिएको छ । अहिले हात खुट्टा र अनुहारमा चाउरी परी सकेकोछ । अंग प्रत्यंगले काम गर्न छोडि सकेका छन। सधै भलो र सकारात्मक चिन्तन लिदा लिदै  पनि कहिले काहि परिस्थित नबुझेका बाट नकारात्मक गराइने रहेछ।हुदा हुदै  पहिला कनिका बिकाउने को अहिले चामल पनि नबिक्ने भएको छ । त्यसै गरी बोली डोली र सोली पनि नबिक्ने  भै सकेको रहेछ । यो सबै प्रकृतिकै सन्तुलनको नियम वा खेल रहेछ  भन्ने अनुभुति हुन थालेको छ ।अनी चित्त पनि बुझ्दैछ । सबैको त्यसै अवस्था देखेर । आफ्नो शक्ति र क्षमतामा ह्रास हुदै जादा अरुले गरेको  प्रगति र उन्नतिमा तथा सफलता र सभ्यतामा आँखा लाग्ने पनि रहेछ। मानिस स्वभावैले स्वार्थी र इर्ष्यालु प्राणि भएकाले यसलाइ भने विज्ञहरुले स्वभाविकै मान्दै आएका पनि छन। दिन दोवर र रात चौबर हुदै बित्दै गए । चाहना र आबश्यकताहरु पनि त्यसरीनै बढ्दै गए तर उपलब्धि भने घट्दो क्रममा हुदा असन्तोषका लहरहरु झन झन बढदै जादा रहेछन।
  यसरी बिचार गर्दा गर्दै अनि  मैले सम्झे  मेरो आमाको भनाइलाइ। म २०११ साल श्रावण महिनाको ११ गते सोमबार बिहानीको समयमा आमा बाल कुमारी बराल र बाबा गोबिन्द प्रसाद बरालको जेष्ठ सुपुत्रको रुपमा साविक बेसिशहर गा.वि.स वडा नं नं९ र हाल पनि बेसिशहर न.पा वडा नं ९ पाखाथोक बेसिशहर लमजुङमा जन्मेको अरे। मेरा हजुर बुबा जेठा श्री प्रसाद बराल माहिला भानुभक्त बराल साहिला लक्ष्मी प्रसाद बराल र कान्छा महा प्रसाद बराल हुनु हुन्थ्यो भने बुबाहरुमा जेठा कृष्ण प्रसाद बराल माहिला मेरो बुबा गोविन्द प्रसाद बराल साहिला ज्ञान शाली बराल काहिला टंक प्रसाद बराल तथा कान्छा अनन्त प्रसाद बराल हुनु हुन्थ्यो। जेठा बुबा कृष्ण प्रसाद बराल बिबाह नहुदै काठमाणडौमा पढन बस्दा रानी पोखरीमा पौडी खेल्दा पानीमा डुबेर बित्नु भएछ । त्यहि कारणले गर्दा हामिलाइ काठमाण्डुमा पढन जान पछी सम्म पनि रोकावट हुदै आएको थियो। मेरो बुबा घर मै घर गृहष्थि गरी सामान्य कर्मकाण्डमा सरिक हुनु हन्थ्यो भने साहिला बुबा भारतमा रोजगारी गर्नु हुन्थ्यो । काहिलो बुबा पनि घर गृहस्थिमै ब्यस्त हुनु हुन्थ्यो। पछि छुट्टी भिन्न भए पछी चितवनको तोरीखेत तर्फ बसाइ सराइ गर्नु भयो।साइला बुबा चामबासमा। कान्छा बुबा अपांग हुनु हुन्थ्यो । हजुर बुबा बाबा र कान्छा बुबा लगायतकाको हाम्रो संयुक्त परिवार थियो ।  बढी आर्थिक उपार्जन नभए पनि सामान्य रुपमा खेतीपाती गरी बस्तुभाउ पाल्दा हामीलाइ जीवन संचालन गर्न त्यति कठिन थिएन। त्यतिबेला ४ वटा हजुर बुबा र ४ वटा बुबाहरुको माझमा म एक मात्र नाति र छोरा भएको हुदा सबैको हाइ हाइ मै रहने अवसर पाएको थिए । ५ वर्षको हुदा घर नगिचै चण्डी डाडामा वि.सं.२०१२ साल आस्विन महिनामा  भव नाथ बराल टेक नाथ बराल तथा खगेश्वर पौडेल लगायतका यहाँका सामाजिक कार्यकर्ताको सक्रियतामा खुलेको श्री जन बिकास बिद्धयाश्रम प्रा.वि. हाल जनविकास मा.वि.  को कक्षा १ मा २०१६ सालको पौषमा भर्ना भए । पढनको लागि किताव थिएनन । एउटा ठूलो काठको पाटी लिएर गएर त्यसैमा धुलो राखी छेस्काले कखरा  र १ ३ अंकहरु लेख्ने चलन थियो । केहि समय पछी साप्लीको कुनाबाट खरी ढुंगा लिएर आएर लेख्न थालियो। बस्ने ठाउ नहुदा धेरैले आफ्नै घरबाट परालको चकटी लिएर जाने चलन थियो । मैले भने बुबालाइ पिरालेर खरबारीको चिलाउनेको हाँगाकाटी लगेर बेञ्च जस्तो बनाएर बस्ने गरेको थिए । केहि समय पश्चात ठूलो वर्णमाला भन्ने पुस्तक आयो । त्यहि पुस्तकमा भएका विषयबस्तु पढी २ कक्षामा पुगियो। २ कक्षा बाट क्रमस ५ कक्षा प्रथम भै उत्तिर्ण त भइयो। ततः कालिन प्र.अ पद्म राज पौडेल तथा विद्धालय संचालक समितिका अध्यक्ष तिलक बहादुर पौडेलको हातबाट पुरस्कार पनि थापियो । प्रथम भएर उत्तिर्ण भएको कारणलेउहाँहरुबाट राम्रो सगँ पढनु है भन्ने आशिर्वचन तथा वाक्याँश पनि आयो । हुन्छ त भने तर पढन भने सजिलो थिएन। किताबहरु किन्न सजिलै सगँ पाइदैन थ्यो। बाहिरबाट झिकाउनु पर्ने । पढनको लागि २घण्टाको उकालो चढी हावाहुरी घाम झरी र बादल नभनी गाँउ शहरको दरबार भएको ठाउमा अवस्थित लमजुङ हाइ स्कूलमा जानु पर्ने। त्यसमा पनि पुल नभएको बिचमा मजुवा खोलो ।वर्षाको समयमा केटा केटीले तर्न नसक्ने। १० वर्षको सानो बालक। बाबा र आमाले पढन पठाउन गाह्रो मान्नु भयो । भयो अव छोरालाइ घर मै राखी पढाउनु पर्ला भन्ने सोच गर्नु भयो । मलाइ भने स्कूल मै गएर पढने चाहना थियो । अनि एक पटक  जे भए पनि छिमेकी मितदाइ ह. कुल बहादुर कुवर सगँ  सोध्न पर्यो भनी  आमा जानु भएको त  के हुन्थ्यो घरमा पढाएर स्कूल मै पठाउनु पर्दछ भन्नु भएछ । अनि आमाले बाबालाइ पनि सहमति गराए पछि बिहान  ८ बजे नै खाना खाएर गाँउ शहरमा कक्षा ६ मा पढन जान थाले । सामान्य रुपमा भन्ने हो भने कहिल्यै पनि राम्रो सगँ खाना पाकेर वा पकाएर खाइएन होला । कहिले तिउन सगँ मात्र त कहिले दुध वा घिउ र खुदो सगँ मात्र खाना खाइयो। खाजाफाँकको त कुरै छोडो बेलुका स्कुलबाट फर्के पछी५.३० बजेतिर आमाले भुटेर राख्नु भएको मकै भट्ट र मोही हो।उकालो बाटोमा पानी समेत खान दनै गाँउमा पसेर मागेर खान पर्दथ्यो। तेत्ति बेला दनै गाँउमा पनि पानी काउले बाट बोकेर ल्याउनु पर्ने हुदा धेरै विद्धयार्थीलाइ पानी दिन पनि संकट थियो । बढी तिर्खा लाग्दा पानी अमला उखेलेरै घाँटी भिजाउने चलन थियो । म भन्दा अरु  सबै ठुला र दौडन सक्ने साथि हुदा मलाइ डराओस भनेर बाघ लाग्ने  बनमा पनि उछिनेर हिडथे र लुक्थे पनि । कतिपय त जंगल जंगल पनि हिडथे। छेलो हान्ने र पौडी खेल्ने कार्य त नियमित रुपमा हुन्थ्यो। जसले जे गरे पनि मैले भने आफ्नो लगनशिलता र धैर्यतालाइ छोडिन। कोहि कसै सगँ नराम्रो पनि गरिन । राम्रो सगँ अनुशासित भै पढनु नै आफ्नो लक्ष्य ठानी सकि नसकि ५ वर्ष सम्म साथिहरु सगँ पछि पछि लागि रहे ।तर म कक्षामा पढन अब्बल भएकोले भने कोहि कसैले पनि सहजै किसिमबाट हेपि हाल्न सक्दैनथे। ततःकालिनको लमजुङ हाइ स्कूल. १२- १५ वटै प्राथमिक .विद्धालयको केन्द्रबिन्दु भएकोले र सबैका प्रथम र दिव्तिय पोजिसनमा उत्तिर्ण मात्र छात्र छात्राहरुको जमघट हुदा अग्रस्थान हासिल गर्न कठिनै थियो।गुरुहरु कडा कडा हुनु हुन्थ्यो । जेठा गुरु माहिला गुरु र साहिला गुरु भन्ने चलन थियो। उहाहरुका अगाडी उभ्भिन बडो साहशीले मात्र आँट गर्दथ्यो । सबै पाठ मुखाकार गर्नु पर्दथ्यो । नत्र कडा सजाँयको भागिदार हुनु पर्दथ्यो । एक दिन एउटा साथि एक छिन ढिलो कक्षामा पुग्दा माहिला गुरु  टिकाराम घिमिरे ले सजाँय स्वरुप दुवैकानमा समातेर जुरुक्क उचालेर छोडि दिदा ती साथिले कक्षामै पिशाव चुहाएको म कहिल्यै पनि बिर्सिन्न। कतिपय साथिहरुको हातमा त लौरीका सुम्लाका सुम्ला हुन्थे। तै पनि गरे पछी र आटेँ पछी के हुदो रहेनछ र प्रथम र दिव्तिय हुदै कक्षा दशमा पुगियो। टेस्ट परीक्षा दिने २२ जना थियौ। प्र.अ. बुद्धिबहादुर बुढाथोकी हुनु हुन्थ्यो। उहाले अंग्रेजी दिव्तियपत्र अत्यन्त सरल अग्रेजी शब्द प्रयोग गरी पढाउनु हुन्यो । मलाइ अहिले सम्म पनि संझना छ उहाले साम अफ लाइफ भन्ने पोइम को लेखाइ दिएको समरी जुन मैले शब्द वाइ शब्द कण्ठै बनाएको थिए र पछी परिक्षामा पनि त्यही आएको थियो । उहाँले हामीलाइ मजुवाखोला पारीका हुनाले बढी चासो लिइ हेरचाह र सोधपुछ पनि गर्नु हुन्थ्यो। माया र ममता पनि देखाउनुहुन्थयो । खोलामा पानी बढेको थाहा पाउने बित्तिकै छुट्टी दिनु हुन्थ्यो। त्यसैले उहा हाम्रो लागि परमआदरणिय ब्यक्तित्व हुनु हुन्थ्यो। मैले टेस्ट परिक्षा दिने समयमा हिडन कठिन हुने देखी कहिले डिल बहादुर खडकाको घरमा त कहिले लाल कुमार श्रेष्ठ तथा अन्त्यमा त्यहि वडामा रहेको भिमसेन मन्दिरको नजिकै को धरम भकारीको घरमा काका प्रचण्ड राज बरालका साथ डेरा गरी बसेको थिए । त्यति बेला घरबाटै लगेका चामल गुन्द्रक भट्ट र मस्यौरा तिउन  आदि पकाएर तीनधारे पधेराको पानी बोकेर ल्याएर खाना खाएको संझना आज सम्म पनि ताजै छ।
 २२ जनाले परीक्षा दिएकोमा २२सै जनाहरु एस .एल.सी टेष्ट परिक्षामा उत्तिर्ण भए पछी २०२७ सालको एस.एल.सी परिक्षा दिन ततःकालिनको सदरमुकाम रहेको  लमजुङको एकमात्र परिक्षा केन्द्र शान्ति मा.वि. कुन्छामा गइयो। कुन्छा भञ्जाङमा रहेको रत्न कुमार श्रेष्ठको घरमा डेरा गरी धर्मराज श्रेष्ठको घरमा खाना खाने गरियो। खाना राम्रो र सफा सुघ्घर भएकाले धेरै अरु साथिहरुले पनि त्यहि खाना खाने गर्दथे । त्यो केन्द्रको  त्यस बर्षको एस.एल.सी परिक्षा अली जटिल र बढी सुरक्षाको घेरामा थियो । किनकी अघिल्लो वर्ष अर्थात २०२६ सालको त्यहि केन्रमा भएको एस.एल.सी परिक्षाको उत्तर पुस्तिका त्यहि जलाइएको थियो । त्यसैले राज्यकै ध्यान त्यही थियो । केन्द्राध्यक्ष र अब्जर्बभर्व देख्ने बित्तिकै सातो जान्थ्यो अरु कुराको त कुरै छोडौ। जे जस्तो भए पनि माघ २ गतेबाट संचालन भएको उक्त १० दिने परीक्षा राम्रै सगँ समाप्त भयो । परिक्षा समाप्त भएको अन्तिम दिन २ वजे तिर ५-७ जना साथिभएर सुर्के झोला बोकी कुन्छाबाट खाजा फाँक केहि नखाइकन दुरडाडा हुदै घर बेसिशहर तिर हिडियो । किरिञ्चे खोलामा आइ नपुग्दै  आकाशमा मेघ गर्जी हुरी बतासका साथ पानी परी आखै नदेखिने गरी अध्यारो भयो । त्यसमा पनि चाडो जाने भनेर अधेरी खोलाको बाटो लागेका के थियो आँखै नदेखेर हात समातेर हिडन थालियो। त्यति हुदा पनि कैयौ स्थानमा बाटो विरियर झाँङ तिर पनि फस्न पुगियो । बढो मुस्किलले दारेगौडाको भिरमा हातले छाम्दै छामदै निथ्रुक्कै भिजेर माथि डिलको चौतारामा उक्लिएर एकछिन थकाइ मारी हिडन लागदा पुःन भयंकर सगँ पानी आइ हिडनै नसक्ने भए पछी त्यहि दारे गौडामा भएका एक जनाको घरमा आश्रय लिने बिचार गरी गयौ । त्यतीबेला त्यस घरमा एक जना आमा मात्र हुनु हुदो रहेछ तै पनि हामी लाइ बस्ने अनुमति दिनु भयो। मकै भुटेर खान दिनु भयो। आगो तापेर कपडाहरु अलि अलि भने पनि सेकायौ र रात कटायौं । भोलिपल्ट अलिअलि उज्यालो हुने बित्तिकै आमालाइ धेरै धेरै धन्यबाद दिदै र उहाबाट आशिर्बाद लिदै बेसिशहर झरियो । जुन रातलाइ जीवनमा कहिल्यै पनि बिर्सिन सकिदैन ।
  परिक्षा सकेर घर फर्कदा त आमालाइ काम गर्न सघाउने कोहि भएन दुख भयो छोराको बिहे गर्न पर्यो भनि बाबाले प्रसंग चलाइ रहनु भएको रहेछ। अनी थप कुरालाइ अगाडी बढाउने कोसिस पनि गरी हाल्नु भयो। दुबै तिरको कुरा मिलेछ । फाल्गुण २२ गते २०२७ सालमा बिबाहको काम सम्पन्न गर्ने निधो भएछ छिमेकी वडा साम्दि बस्ने भानुभक्त पौडेलकी छोरी बिष्णु माया पौडेल सगँ । केटाले केटीलाइ चिने जानेको सुनेको र देखेको पनि छैन। त्यसै गरी केटीले केटालाइ पनि । आमा बाबाहरु र छिमेकी को बिश्वासमा सबै बिबाह सम्बन्धी काम सम्पन्न भयो १६ बर्षको केटा र १३वर्षकी केटी बिच। बाबा र आमाको माग त पुरा भयो आफुलाइ भने पिर पर्न थाल्यो ।बिबाह त भयो तर एस.एल.सी पास भइन्छकी भइदैन भनेर।
 परीक्षा सकिएको करिब ३ महिना पछी एस.एल.सी परिक्षाको रिजल्ट भयो। त्यतिबेला फोन लगायतका साधन पनि नभएको  काठमाण्डौमा आफ्ना कोहि पनि मानिस नभएकोले र गोरखापत्रमा हेर्नु मात्र एक विकल्प भएको तर गोरखा पत्र आउन भने हुलाकबाट महिनौ लाग्ने । रिजल्ट भएको तीन दिन सम्म पनि अन्यौलै भइयो । बल्लबल्ल साथी माधव प्रसाद अधिकारीले काठमाण्डौबाट आउने मानिससंगँ हेर्दा हेर्दै झुत्रो भएको गोरखा पत्र पाउनु भएछ र मैले पनि थाहा पाइ उहा कै घर गइ हेर्दा २२ जना मध्ये हामी दुइ जना मात्र उत्तिर्ण भएको पाउदा खुसीको सिमा रहेन । तर २० जना साथिहरु असफल भएकोमा भने दुःख लाग्यो। पछी असफल हुने ७-८ जना साथि भारतिय सेनामा भर्ति हुनु भयो र हाल उहाहरु सबै भारतिय सेनाको उच्चपद प्राप्त गरी निबृत भै सक्नु भएको छ भने कतिपय घर गृहस्थमै लाग्नु भयो । माधव जी र म भने पढाइमा लाग्ने सुर गर्यौ ।
   माधव जी भने पढाइको लागि काठमाण्डौ लागि हाल्नु भो । मलाइ काठमाण्डौ पठाउन बाबा र आमाले आनाकानी गर्नु भयो । अब यति भए भै हाल्यो अरु भाइ बहिनीहरुलाइ पनि पढाउनु पर्यो भनेर । मेरो भने बिज्ञान बिषय लिएर आइ.एस्सी पढने बिचार थियो। पोखरा को पि.एन.कलेजमा गएको त बिज्ञान पढने मार्क पुगेन भन्ने भनाइ आयो । त्यसो भए अर्को विषय पढने की के गर्ने भन्दाकै अवस्थामा ततःकालिन जि.वि.स मा मुखिया स्तरको जागिर खुलेको जानकारी आयो । निवेदन के हालेको थिए मेरो प्रतिश्पर्धी साथिको मार्क कम भएको र गणित बिषय नभएको ले मेरो नाम निस्कियो । त्यो जागिरले मलाइ १ वर्ष त्यहि रोके पछी २०२९ सालमा पुन बिज्ञान गणित बिषय लिएर पोखरा क्यामपसमै प्रमाण पत्र तहमा भर्ना भएर अध्ययन गर्न थाले । भर्ना भए पछी छात्रवृति लगायतका सुविधा लिदै २०३१सालको बैशाखमामा बिशिष्ट श्रेणीमा प्रमाणपत्र तह उत्तिर्ण गरे लगत्तै फेरी जेष्ठ२२गते बाट लागु हने गरी जन बिकास निमावि चण्डीडाडा बेसिशहरको प्र.अ को रुपमा तथा स्थायी शिक्षकको रुपमा नियुक्ति लिए।  २ वर्षको अन्तरालमा वा २०३३ सालमा यसै बिद्धयालयको स्तरोन्नती गरी मा.वि. गराए पछी पुन शिक्षा मा नै स्नातक अध्ययन गर्न को लागि क्याम्पस तर्फ लागे । २०३६ सालमा बिज्ञान गणित बिषयमा स्नातक उत्तिर्ण  गरी घर फर्किन के पाएको थिइन ३६ सालको आन्दोलनले  ज.क.मा.वि. चितीमा बिज्ञान शिक्षकको अभावमा प्र.अ.को बर्खास्तिको माग राखी आन्दोलन गरी रहेका रहेछन । अनि लमजुङको ततःकालिन प्रशासनले मलाइ बढो शान्ति सुरक्षाको कानून लगाउने डर र धम्की तथा कर र बलका साथ त्यहि काजको रुपमा पठाउने निर्णय गर्यो ।अनी मैले आफ्नै जीवनको सुरक्षाको लागि भने पनि ज.क.मा.वि. चितीको माध्यमिक बिज्ञान शिक्षकको रुपमा काजमा काम गर्न पुगे। त्यतिबेला मलाइ हाजिरै नभैकन ततः कालिन प्रशासनले बिरभक्ति मा.वि. तार्कुघाट लगाएतकामा ब्रेनवासको लागि भनी एकै चोटी २ ठाउमा सरुवा गरेको थियो ।  २ वर्षको कडा मिहिनेत र परिश्रमका कारण ज.क.मा.वि. ले बोर्डफस्टको उपाधी प्राप्त गरे पछी मात्र मेरो जन बिकास मा.बि बेसिशहरमा काज फिर्ता भयो । त्यस पछी जिल्ला शिक्षा समितिको सदस्य जिल्ला शिक्षकछनौट समितिको सदस्य  जिल्ला शिक्षक मिलान कार्य दलको सदस्य नेपाल शिक्षक युनियन लमजुङको उपाध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति लमजुङको सचिव लगायतका थुप्रै सामाजिक संघ र संस्थामा तथा समिति मा काम गरी झण्डै अन्तिम समयमा मात्र १५ वर्ष सम्म लगातार जन बिकास उमाविको प्राचार्य / प्र.अ भै  ३७ वर्ष ७ महिना सेवा गरी २०६७साल मार्ग १ गते बाट माध्यमिक शिक्षक प्रथम श्रेणिबाट निबृत भै रहेको छू । सेवा निवृत भए पछि पनि २०७१ सालबाट २०७४ साल सम्म बेसिशहर न.पा.को पद पुर्ति समितिको अध्यक्ष भै काम गरे। यसरी बिभिन्न स्थानमा रहदा सहयोग गर्ने सबैलाइ धन्यबाद दिन चाहन्छु र असहयोग गर्ने प्रति पनि आभार व्यक्त गर्न चाहन्छु।किनकी उनिहरुले पनि विरोधै गरेर भने पनि मलाइ सही मार्गमा आउन सहयोग पुर्याएको हुनु पर्दछ ।  सेवामा कार्यरत भएकै अवस्थामा जन प्रशासन बिषयमा स्नातोकतर गरी ८ बर्ष सम्म म.ब.क्या. बेसिशहरमा राजनीति शास्त्र विषयमा प्राध्यापन कार्य गरे भने बि.एल उत्तिर्ण गरी २०४८ सालमै अधिबक्ताको प्रमाण पत्र लीइ  २०६७ साल मार्ग १ गतेबाट  हाल सम्म पनि जिल्ला अदालत लमजुङको वार इकाइमा रही अधिबक्ताको रुपमा कार्यरत छु । अझै पनि म मा केहि गर्न सक्छु भन्ने भावनाले पि.एच.डी अध्ययनको लागि सिनोप्सिस त पेश गरि सकेको अवस्था त हो तर स्वास्थ्यमा गत साल देखि देखिएको समस्याले गर्दा लगातार रुपमा अध्ययनको कठिनतम काम गर्न सकि रहेको छैन। हेरौ स्वास्थ्यले कति बेला सम्म साथ दिन्छ। 
   मेरा दुइ बहिनीहरु अम्बिका र सिता हुन । अम्विकाको दुरडाँडा खुम्रक निवासी इन्द्र बिलास न्यौपाने सगँ बिबाह भै ३ छोरी सृजना रञ्जना र रसना तथा र एक छोरा गणेशको जन्म भएको छ भने सीताको पनि बाहुन डाँडा निवासी चन्द्र शेखर घिमिरेका साथ बिबाह भै २ छोरी इन्दिरा र रीता तथा र एक छोरा शुसिलको जन्म भएको छ।  ३वटा भाइहरु होमनाथ फणिन्द्र र कमल हुन। सबैको बिवाह भै सकेको छ। होम नाथ को कमला घिमिरे सगँ प्रथम बिबाह भएको थियो। उनबाट २ छोरा सुरेन्द्र रविन तथार एक छोरी संझनाको जन्म भए पछी अकस्मात कमलाको निधन हुन पुग्यो । केहि वर्ष पछी शिव अधिकारी सगँ पुनः बिबाह भएको छ  भने फणिन्द्रको पनि विद्धया घिमिरे सगँ बिबाह भै दुइ छोरी स्नेहा र निहा तथा एक छोरा बिहानको जन्म भएको छ। त्यसै गरी कमलको पनि सुधा घिमिरे सगँ बिबाह भै एक छोरा कुशल र एक छोरी बुनु जन्मेकी छीन। बाबा गोविन्द प्रसाद बरालको १६ वर्ष अगावै र आमा बाल कुमारी बरालको पनि   ११ वर्ष अगावै देहावसान भै सकेको छ । त्यसै गरी ठूली बैनिको पनि कम उमेर मै ४ वटा सन्तानलाइ छोडी अकस्मात भएको देहान्त र त्यसमा पनि हालै केहि दिन अगाडी उनकै माहिली छोरी वा मेरो भाञ्जि रञ्जनाको अल्पायु मै अकल्पनिय रुपमा भएको देहावसनले मलाइ मर्माहत बनाएको छ ।जति सुकै कष्ट र पीडा भए पनि मानिसले सहन गर्नै पर्ने रहेछ। पिर मर्का र पिडा भन्ने कुरा परिवारको संरक्षक वा अभिभावकलाइ मात्र थाहा हुदो रहेछ । म आज झण्डै ३० जनाको अविभावक वा संरक्षकको रुपमा रहेको छु ।  जतिसुकै पिर चिन्ता गर्दिन भन्दा पनि यि सबैलाइ प्रति दिन साझँ वा बिहान एक पटक संझदा मात्र पनि केहि न केही मनमा अनेकका तर्क र बितर्क सफलता र असफलताका बिकल्पहरु आइ रहदा रहेछन। को के र कस्तो भनी लेखाजोखा र नाप जात भै रहने रहेछ। सबै कुरा न भन्न मिल्दो रहेछ न भनेर नै समाधान हुदो रहेछ । जे होस बाबा र आमाको तथा कान्छा बाबा अनन्त प्रसादको अथक प्रयास प्रोत्साहन तथा लगनशिलताको कारणको साथै भगवानका कृपाले सबैले उच्च शिक्षा हासिल गरी आ-आफनो पेशा र ब्यबसाय गरी ब्यबस्था राम्रो गरी बसेका छौ। हातमुख जोर्ने र घरबासको समस्या छैन । हाल मेरो  पासमा सहधर्मिणि एवं अर्धांगिनी बिष्णु माया बराल तिर्थ र पुष्प गरी दुइटा बाबु उषा र सृजना गरी दुइटा बुहारी हरु र दुबै बाबुका एकएक वटा नातिहरु प्रवेस र निमेष तथा  नातिनिहरु शुभेक्षा र प्रेक्षा गरी १० जना छौ। बाबुहरु पनि आ-आफ्ना पेशा र ब्यबसायमा लागि परेका छन। नाति नातिनाहरु पनि पढनमा ब्यस्त छन । दुःख र सुख भन्ने बस्तु त यस्तै हो ।जिन्दगी सामान्यरुपमा चलि रहेको छ । हाल सम्म हामी सबै स्वस्थ नै छौ ।सदा झै गरी सबैको सहयोग सद्भाव र आशिर्वाद प्राप्त भै रहोस। जीवन पुस्तकको पाना जै गरी सधै चलि रहोस  भगवान सगँ यही प्रार्थना गर्दछु । अस्तु . .
                                                                                    
 मितिः-२०७६ साल चैत्र ६ गते रोज ५ शुभम्. .  .. . ..


Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |