खोज खबर ३३४
कुकुरलाइ घिउ नपचे जस्तो
भनिन्छ मानिसहरुलाइ अवसर वा
मौका जीवनमा एक पटक आउछ। त्यसको समयमै उपयोग गर्न सकियो भने वा सदुपयोग गर्न सकियो
भने मात्र मनोबाञ्छित फल प्राप्त हुन्छ । लक्ष्य र उद्धेश्यमा पुग्न सकिन्छ। यो
भनाइलाइ नेपालका वर्तमानका सत्ताधारी नेताहरुले बुझ्नै सकेनन वा बुझेर पनि बुझ
पचाएका हुन थाहा पाउन सकिएन वा बिनासकाले बिपरित बुद्धी चरितार्थ भएको हो बुझ्न सकिएन । नेपाली जन्ताले
वि.सं २०६४साल चैत २८ मा सम्पन्न पहिलो संविधान सभामा राप्रपा बाहेकका अन्य सबै
राजनैतिक दलका झण्डै ९९ प्रतिशत जन्ताका प्रतिनिधिको चाहना आबश्यकता र समर्थनमा
२०६५साल जेष्ठ १५ गते संविधान सभाको पहिलो बैठकको निर्णयअनुसार गणतन्त्र प्राप्त
गरेका थिए। यसैको संझनामा गत जेष्ठ १५ गते नेपाल सरकारले १३औं गणतन्त्र दिवस मनाएका
खवर पनि सार्वजनिक भएका थिए। यसरी औपचारिकरुपमा वा नाम मात्रको रुपमा गणतन्त्र
दिवस मनाइ रहदा र १३ वर्षमा पदार्पण गरी सक्दा पनि नेपालका बिवेकहिन अनाबश्यकरुपमा
चुरिफुरी देखाउने सत्तासिन घमण्डी‚
अहंकारी र पूर्वाग्राही नेताको कारणले गणतन्त्रले सहि स्वरुप धारण गर्न नसकेको
नेपाली जन्ता लगायत बिश्वका अन्य मुलुकका नेताले समेत महशुस गरि रहेका छन। अझ कोहि
कसैले त यिनैको कारण गणतन्त्र धरापमा परि सकेको पनि टिप्पणी गर्न थालेका छन ।
बेमौसमि बाजा बजाएर जन्ताको मतको अवमुल्यन गर्दै आवाज नसुन्ने वर्तमानको सत्ताधारी
राजनैतिकदल को भूमिका ज्यादै नकारात्मक भएको‚ ब्यबहार र आचरणमा सामन्तीपन देखिएको‚ बिचार र चिन्तनमा एकात्मक र अधिनायकवादी देखिएको‚ ब्यक्तिवाद गुटवाद र नातावादलाइ प्रश्रय
दिएकोले संघिय लोकतान्त्रिक गणतन्त्रमाथि
नै व्रजपात हुने पनि तर्कहरु अघि बढि रहेका छन ।
खास गरेर भन्नुपर्दा गणतन्त्र
भनेको जन्ताको तन्त्र हो । यस्तो व्यबस्थामा जन्ता नै सर्वेसर्वा हुन्छन र जो कोहि
व्यक्ति पनि जुनसुकै बेला पनि राज्यको सर्वोच्च पदमा पदासिन हुन सक्दछन। त्यसै गरी
लोकतन्त्रमा साधारण जन्ता वा उनिहरुले निर्वाचित गरेर पठाएका प्रतिनिधि मार्फत
शासन ब्यबस्था संचालन हुन्छ र प्रतिनिधिहरु सधै जन्ता प्रति उत्तरदायी हुन्छन। यसै
क्रममा गणतन्त्रको बिषयमा अंग्रेजीमा पनि भनाइ छ “ A state in which supreme power is
held by the people and their elected representatives and which has an elected
or nominated president rather than a Monarch.” यी सबै किसिमका भनाइ लाइ नेताहरुबाट लत्याइएकोले
नेपाल लोकतान्त्रिक गणराज्य हो भन्न पनि मानिसहरुले हिच्किचाइ रहेका छन। कतिपय त
यसको विकल्पमा समेत सडक सडक र गल्ली गल्लीहरुमै उपस्थित भएर भन्न थालेका छन यो
मुलुकका सत्ताधारिहरुले नेपालमा २००७ सालमा पहिलो पल्ट आएको प्रजातन्त्रलाइ
२०१७सालमा गएर राजालाइ बुझाइ दिए । त्यसैको लागि जन्ताले पुनः २०४६मा आन्दोलन गरी
२०४७मा पुन प्रजातन्त्र ल्याए पनि त्यो पनि
नेताहरुकै कारण सार्थक हुन सकेन र फेरी २०५२ बाट २०६२/६३ सम्म १० बर्षे
जनयुद्ध गर्ने अवस्था सृजना भयो । त्यसबाट गणतन्त्र त आयो तरआज १३ वर्षमा प्रवेश
गरी सक्दा समेत सधै ङ्यार ङ्यार र ङुर ङुर गरी कुकुर र बिरालाका रुपका रहेका नेताकै
कारण ब्यबस्थित हुन सकेको छैन । न यहा बिधिको शासन लागु हुन सकेको छ न यहा मानव अधिकार नै स्थापित हुन सकेको छ। न गणतन्त्रको
मर्म अनुसारको काम नै हुन सकेको छ। न जन्तालाइ रोजगारी दिलाइ खाली पेट नै भर्ने
ब्यबस्था मिलाइएको छ । न शान्ति सुरक्षा र स्वास्थ्यको उचित प्रवन्ध नै हुन सकेको
छ। न त कोरोनाको कहरलाइ मत्थर गराउने कार्यक्रम नै ल्याइएको छ। उपचार नपाएर
जन्ताहरु भकाभक मरी रहेका छन । सरकार भने संबिधान र ऐन कानूनको समेत ख्याल नगरी
कसरी जन्ताको उपचारबाट पन्छिने भनी मार्ग खोजिरहेको छ । खाली कसले कसरी कुर्सी
हत्याउने भन्ने खेलमा मात्र लागेको देखिएको छ ।
जनयुद्धका क्रममा हताहत भएका १७००० भन्दा बढीको आत्माले के भनि रहेको होला‚ हजारौ बेपत्ता र लाखौं अपांग भएका तथा विस्थापित
भएका का परिवारले के भनि रहेका होलान भन्ने अलिकति पनि चिन्तन गर्न नसक्नु भनेको
मुलुक र जन्ता कै लागि अपसकुन देखिएको छ।
अझ आ-आफ्नै बिच आक्रमण र प्रत्याक्रमण भएको देखिदा पनि टुलुटुलु हेरी रहनु भनेको
निरिहपना भन्दा के हुन सक्दछ र ।यस्ताले संचालन गरेको साशन सत्तामा कसरी बिश्वास
गर्ने । के आशा गर्ने र जन्ताले किन आफ्नो कर्तब्य निभाउने। के १-२ जनाको
प्रयासबाट मात्र नेपालमा गणतन्त्र आउन सफल भएको हो र आफैलाइ गणतन्त्रको ठेगदार
सम्झनु उचित हुन्छ। सदा अस्थिर अदुरदर्शी
र स्वार्थी तथा सधैको खिचातानीमा रमाउने सगँ कसरी सम्बन्ध स्थापित गर्ने। यहा
भन्दा जन्ताको मतको अवमुल्यन के हुन सक्दछ।
सरकारका तर्फबाट खासै एकिन
तथ्यांक दिन नसके पनि आज बैध अबैध गरी झण्डै ४००००००भन्दा बढी नेपालीहरु पेट
पाल्नैका लागि बिदेशियका छन भनिन्छ। यिनिहरुको हालत र तिनिहरुको कारुणिक पारिवारिक अवस्था पनि बुझन
नपर्ने तर रेमिट्यान्स भने बुझि रहने । वरपर र छर छिमेकमा रहेका भारत चिन र फ्रान्स तथा अमेरिका जस्ता गणतन्त्रात्मक
मुलुकले ले के कसरी राज्य ब्यबस्था संचालन गरेका छन। बिश्वले हामीलाइ के कसरी
हेरी रहेको छ भन्ने पनि हेर्न नपर्ने
कस्तो बिडम्वना । हामीले त आशा गरेका थियौ नेपालमा गणतन्त्र आए पछि यहा
मानवअधिकारको पुर्ण पालना हुनेछ। दण्डहिनताको अन्य हुनेछ । सबै किसिमका भेदभावको
अन्त्य हुनेछ । जन्ताको गाँस वास र कपासको समस्या हल हुनेछ। समानता र
स्वतन्त्रताका पाइलाहरु अघी बढने छन। राष्ट्रको सर्बोच्च पद सम्म सबै नेपालीले
पुग्न सक्ने वातावरण बन्ने छ। राजा जस्तो गरी सधै एउटै व्यक्ति उच्च पदमा आसिन
हुने छैनन । गुटगत राजनीतिको अन्त्य हुनेछ । सहयोग र सद्भावको आधारमा राज्य संचालन
हुनेछ । यी सबै आज आकाशको फल आँखा तरी मर भयो । जन्ताले दिएको अभिमत को अवहेलना
भयो । त्यसैले गर्दा सत्तासिन नेता लाइ
गणतन्त्र कुकुरलाइ घिए नपचे जस्तो भएन र ।
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मितः-२०७७/८/११