।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Thursday, December 6, 2018

                           हामिले चाहेको शिक्षा 
       गण्डकी प्रदेश लमजुङ जिल्ला बेसिशहर नगर पालिका वडा नं १ को ऐतिहासिक तथा पुरातात्विक स्थल उदिपुर कालिकाको काखमा बिश्वकै उत्कृष्ठ अन्नपूर्ण राउण्ड पदमार्गको निकटमा अवस्थित नेपालमा स्वतन्त्रता प्राप्तिको १ वर्ष पछी आज भन्दा ६६ वर्ष पहिले वा वि.सं.२००८ सालमा त्यहाँका ततःकालिन शिक्षा प्रेमी  भविष्यबेत्ता बुद्धिजिबिहरु तथा समाजसेवी र राजनैतिक कार्यकर्ताहरुको अथक प्रयास बाट स्थापना भएको जन कल्याण मा.बि. ले यस वर्ष ६७औं बार्षिक उत्सब तथा ३९ औं अभिभावक दिवसको अवसरमा जन कल्याण स्मारिका प्रकासन गरी विमोचन गर्ने कार्यक्रमको लागि सान्दर्भिक  लेख तथा रचनाको आब्हान गरी सम्झना गरेकोमा बिद्धालय ब्यबस्थापन समितिका अध्यक्ष प्र.अ. एवं समस्त बिद्ध्यालय परिवार प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै ज.क.मा.वि.को ६७औं बार्षिकोत्सव तथा ३९औं अभिभावक दिवस अत्यन्त सौहाद्र सभ्य भव्य र प्रभावकारी किसिमबाट सम्पन्न होस भन्दै बिद्ध्यालयको उत्तरोत्तर प्रगति र उन्नतिको साथै युग र समय सुहाउदो ब्यबसायिक र रोजगारीमुलक तथा जन चाहना र आबश्यकता अनुसारको शिक्षा प्रदान गर्न सफल होस भन्ने शुभ कामना ब्यक्त गर्न चाहन्छु ।  
   शिक्षा मानवमा अन्तर्निहित हुन सक्ने अत्यन्त चमकदार मणी र शक्तिशाली बस्तु हो । यो जीवनभर न दिएर नै सकिन्छ न बाँढेर नै सकिन्छ । न यसलाइ बोक्न नै कठीन हुन्छ न यसलाइ अपहरण वा चोरे र नै लैजान सकिन्छ । न यो दाजुभाइमा अंश बण्डा नै हुन्छ। त्यसैले यसलाइ धन मध्येको सर्वश्रेष्ठ धनको रुपमा पनि परिभाषित गरिएको छ ।  जसको महत्वलाइ पहिचान गरी उपयोग गर्न सकियो भने मानव जीवन अत्यन्त फल दायक हुन्छ । अन्यथा मानव जीवनको सार अन्त्य हुन्छ । यसैलाइ मनन गरी आफ्नो स्थान र क्षेत्र बाट तथा उपलब्ध साधन र स्रोतको आधारमा  नीजि ज्ञान  सिप र क्षमताले भ्याए सम्म बिज्ञान र प्रविधियुक्त  युग सुहाउदो जन चाहना र बाल बालिकाको आबश्यकता अनुसार वा हामीले चाहे जस्तो शिक्षा प्राप्त गराउने दृढ प्रतिज्ञाका साथ अन्य सबै किसिमका अवसरहरुलाइ पनि तिलाञ्जली दिदै र चुनौतिलाइ पछि पार्दै ३७ वर्ष ७ महिनाको समय बिद्ध्यालय वा उच्च शिक्षाको क्षेत्रमा काम गरि बिताउने अबस्था सृजना भयो र बिताइयो पनि । त्यति बेलाका झै झमेला र अवस्था को बिवेचना गर्दा ऐले पनि शरिरमा जिंग्रिंग काढा उम्रिन्छन ।कतिपयलाइ त अझै पनि कहाली लागि रहेको पाइएको पनि छ । तर पनि दृढ बिचार र दह्रो मन तथा आत्मबलका कारण कुनै पनि दुर्घटना भने हुन पाएन । सत्य र तथ्यको बलमा काम गर्दा मानवको त के कुरा गर्ने दैवको पनि केहि जोर चल्दो रहेनछ भन्ने कुरा शास्वत भएको छ । जसरी रोग नलाग्दै रोकथाम गर्न सजिलो हुन्छ तर रोग लागि सके पछी निको पार्न कठिन हुन्छ त्यसै गरी बिग्रि नसकेको कुरा सपार्न सजिलो हुदो रहेछ बिग्री सके पछी भन्दा । सबै प्रयासहरु असफल हुदा रहेछन । बाल बालिकाको आबश्यकता र चाहना तथा मनोभावनाको साथै क्षमताको पहिचान गर्न अभिभावकको आशय र आर्थिक अवस्था बुझ्न भौतिक बस्तुहरुको संरचना र ब्यबस्थापन गर्न तथा आबश्यकताको पहिचान गर्न राजनैतिक नेता र कार्यकर्ताहरुको स्वभाव र आचरण तथा ब्यबहार थाहा पाउन बुद्धिजिविहरुको बुद्धिको परिक्षण गर्न प्रशासकको स्वभाव कार्यशैली र मनशाय बुझ्न ऐन कानून तथा नीति नियमको मर्म र धर्म बुझ्न राज्य पक्षको शिक्षा प्रतिको  निरिहपना अवधारणा र दृष्टिकोण बुझ्न अभिभावक र समाजसेबीको आर्थिक र सामाजिक दायित्व बुझ्न शिक्षकले गर्ने गरेका  मनोमानी र लापरवाहि को कारणले देखा परेका अवहेलना मान मर्दन अबिस्वासको साथै उनिहरुको जिम्मेवारी लगनशिलता कर्तब्यनिष्टता दायित्व सिप र क्षमता थाहा पाउन शिक्षकका संघ र संगठनका नेतृत्व कर्ता तथा पदाधिकारीको गैर जिम्वेबारीपना र लापरबाहीको  जानकारी लिन बिद्धार्थीमा देखिने अनुशासन हिनता र कम लगनशिलता  तथा प्र.अ.को जागिरे मात्रको मानसिकता र प्रवृति तथा कमजोरीपना र ब्यबस्थापन समितिको छनौटमा हुने गरेको अनीयमितता राजनीतिकरणले शिक्षा क्षेत्रमा देखिएको वा हुने गरेको समस्या बिचलन ह्रास र अपचलनले शिक्षा क्षेत्र चुर्लुम्बै डुबेको अध्ययन अनुसन्धान र अनुभव बाट प्राप्त भएको छ । त्यसमा पनि राजनैतिक अस्थिरता को वावजुत नीजि क्षेत्रको सशक्तताको कारणले र अभिभावकको बदलिदो मानसिकताको कारणले सामुदायिक बिद्ध्यालयले प्रदान गर्ने शिक्षा असाध्य रोगबाट थलिएको छ । जीवनका अधिकांश समय यसैमा लगाउदा पनि राम्रो र असल कुराहरुको चिन्तन र पिछा गर्दा गर्दै पनि  मानवको सृष्टी देखिकै संस्कारजन्यकुराहरुलाइ एक दुइ जनाको प्रयासले हटाउन संभव नहुने रहेछ । हुनत मानिसहरुको स्वभावै अरुले जतिसुकै असल र राम्रो काम गरे पनि आफुलाइ अरु  भन्दा असल सक्षम र जिम्वेबारीपूर्ण काम गर्ने ठान्नु बोल्दा एउटा कुरा र गर्दा अर्कै कुरा गर्नु लोभ लालचा तथा पद र प्रतिष्ठामा आशक्त भै अर्काको मान मर्दन गर्नु पनि पुरानै चलन हो । बिश्वका चेतनसिल मानिसले शिक्षा क्षेत्रमा गरेको  उन्नति र प्रगति कै कारण प्रशान्त महासागरको गहिराइ र चन्द्रमाको उचाइको साथै ब्रह्माणको पहिचान गर्न समेत समर्थ भएको कुरा नेपालीले नबुझेका त होइनन तर पनि दुइ चार रुपैया शिक्षामा बढाउन पनी सक्दैनन । थपि हाले पनि सदुपयोग गराउन र गर्न सक्दैनन । सरकारले झोली थापेर ल्याएको भिख पनि ब्यक्तिको खोल्तिमा पुगेको सुन्दा दिग्दार लागेर आउछ ।काम गर्ने र गराउने तरिका देख्दा त झन निराश हुने गरिएको छ ।
 शिक्षालाइ लहडको बिषय बनाउदा बनाउदै  सरकार र देशै लहडी भै सकेको छ । न अरुले भनेको सुन्छ न आफुले नै जनताले चाहेको जस्तो गति लिन सकेको छ । वार न पारको अवस्थामा पुगेको छ । नखाउ भने दिन भरिकी शिकार खाउँ भने कान्छाबाएको अनुहार सरकारलाइ भएको छ । एकथोक बनाउन खोज्दा  अर्कैथोक बन्ने गरेको छ । नीतिकर्ता कार्यान्वयन कर्तालाइ दोष दिन्छन भने कार्यान्वयनकर्ता शिक्षकलाइ दोष दिने गरेका छन । शिक्षकहरु नीति नै ठीक नभएको परिस्थिति नै उचित नभएको अभिभावकले सक्रियता नदेखाएको र बिद्ध्यार्थी अनुशासनहिन भै लगनसिल नभएका जस्ता आरोप र प्रत्यारोपलगाइ उम्कने प्रयासमा देखिन्छन । बिद्ध्यार्थीहरु भने प्र.अ.को कमजोरीकाकारण शिक्षक अराजक बनी दिदा शिक्षा क्षेत्र अस्तब्यस्त भएकोले हामीले चाहे जस्तो शिक्षा प्राप्त गर्न नसकेको ठोकुवा गर्ने गर्दछन । त्यसैगरी सर्वसाधारण जनता र अभिभावकले पनि शिक्षक प्रति नै शंकाको दृष्टिले हेर्ने गरेको पाइन्छ । शंकाले लंका जलाउने समय भै सक्दा पनि देश र समाजलाइ डोहोर्याउन सक्षम शिक्षाका संबाहक तथा बालबालिकाका आखाँ उघारी बिश्व चिनाउने दर्पणका स्वरुप शिक्षक आफै निधाउदा सबै क्षेत्र अध्यारो हुनु स्वभाविकै हो । हुन त कतिपय शिक्षकलाइ यी कुराहरु सुन्दा दुःख लाग्ला र आपत्ति जनाउन पनि बेर लगाउदैनन । तर जति सुकै आपत्ति जनाए पनि सहि साचोँ र सत्यकुरा एक दिन उजागर हुने नै हुदा त्यस बिषयमा चिन्ता लिन पर्ने देखिएन । सबैले भन्ने गरेकै कुरा हो  शिक्षक भनेका मुलुकको कुना काप्चा सम्म पुगी दुख र सुखमा भिजेका र बुझेका समाजमा घुलेका  जनतालाइ राम्रो नराम्रो जे भए पनि आखाँ देगाउने अगुवा हुन । गोरु जोत्दा हलोको अनौ समाउने  ब्यक्ति भनेका शिक्षक नै हुन । अनौ जता कोल्टे पारी दियो हलो त्यतै जान्छ र गोरु पनि त्यतै लाग्छन । त्यस्तै गरी शिक्षकले चाहेमा समाजलाइ जस्तो बनाउ भने पनि वा जता कोल्टे पारौ भन्ने चाहना राख्दछ त्यस्तै बनाउन सक्दछ । त्यसैले जब सम्म शिक्षकमा नयाँ जोश जागर र उमंग देखिदैन एक आपसमा हातमा हात मिलाइ काम गर्ने वातावरण तय हुदैन तब सम्म जस्तो सुकै उत्तम शिक्षा प्रणालीको सुरुवात गरे पनि गुणस्तरिय शिक्षाको आशा गर्न सकिदैन । यो कुरा शिक्षक स्वयमले पनि बुझनु पर्दछ । शिक्षण पेशालाइ जागिरको स्रोत मात्र नसंझी आत्म सन्मानका साथ सर्बमान्य पेशा र सेवाको रुपमा स्वीकार्न सक्नु पर्दछ। कर्तब्यनिष्ट बनि मैदानमा डटी रहनु पर्दछ अनि आदर सम्मान र मान मर्यादा  आफै पछिलाएर आउन बाध्य हुन्छन । मान र सम्मान मागेर होइन बरु सम्बन्धित स्थानमा डटेर प्राप्त हुने बस्तु हो । यो शास्वत छ । यसरी हेर्दा राज्यको संचारको मूल संबाहकको रुपमा रहेको शिक्षण पेशा आफैमा नराम्रो छैन । हामी आफैले यसलाइ नराम्रो र अपमानित बनाएका हौं। हामिले आफुलाइ निष्पक्ष र पारदर्शि देखाउन सकेका छैनौ लगनशिल र परिश्रमी तथा मिहनेति देखाउन सकेका छैनौ सिपयुक्त दक्ष र प्रविधि मैत्री बनाउन सकेका छैनौ । सामान्य तालिममा जानेको ज्ञान र सिपलाइ पनि प्रयोग गर्न चाहदैनौ । अधिकांश समय अर्काको आलोचना गर्न बिताउछौ । कसैले केहि गर्न चाहि हाल्यो भने पनि खिसिटिब्र्रि गर्न पछी पर्दैनौ। समालोचनामा भन्दा पहिला हामी आलोचना गर्न पुग्दछौ । हामिमा रहेको अपार शक्ति र सिपलाइ पहिचान गर्न सकेका छैनौ अनी पेशालाइ मात्र दोष दिएर केहि हुनेवाला छैन । शिक्षण पेशैलाइ लिएर मैले नमूनाको लागि कुनै एउटा सामुदायिक बिद्ध्यालयको कक्षा १० मा अध्ययन गर्ने ३१ जना बिद्ध्यार्थीको बिचमा तपाइले आफ्नो अध्ययनको समाप्ति पछि के हुने इच्छा राख्नु भएको छ भनी सोधेको प्रश्नमा १३ जनाले शिक्षक हुने १ जनाले प्रधान मन्त्री हुने ४ जनाले नर्स हुने ३ जनाले डाक्टर हुने ३ जना इनडियन आर्मि हुने ४ जना बेलायती आर्मि हुने  २ जना नेपाली आर्मि हुने र १ जना उच्च पदस्थ कर्मचारी हुने आशय ब्यक्त गरे । यसबाट के थाहा भयो भने शिक्षण पेशा अरु भन्दा धेरै उच्च र गहकिलो छ ।   यसलाइ हामीले जत्ति उच्चस्थान दिन सक्दछौ त्यति हामिले सम्मान प्राप्त गर्न सक्दछौ । शिक्षालाइ हामीले चाहे जस्तो गुणस्तरिय बनाउन र देशलाइ समृद्धि तर्फ उन्मुख गराउन शिक्षक कै गुणस्तरियतामा जोड दिनु पर्ने कुरामा अहिले कोहि  कसैको पनि असहमत भएको देखिदैन । अनाबश्यक हल्ला र भ्रम छर्नेको पछी नलागौं । देश र बालबालिकाको भविष्यलाइ हेरौं। शिक्षकले औपचारिकतामा भन्दा पनि ब्यबहार र कार्यान्वयनमा तथा प्रयोगमा जोड दिउँ  । यो अवसर हो । यसलाइ गुम्न नदिउ ।
  गुरुब्रम्हा गुरु बिष्णु गुरुदेव महेश्वर ।
 गुरुसाक्षात् पर ब्रम्ह तस्मै गुरुभ्यो नमः।।
   भन्ने भनाइलाइ साकार पारौं अबश्य पनि हामिले चाहेको शिक्षा प्राप्त हुनेछ । यसैमा हामी सबैको कल्याण पनि छ । जन कल्यायण मा.बि. उदिपुर ले पनि यहि कार्यमा सफलता प्राप्त गरी चीर काल सम्म जस र यस फैलाउन सकोस पुनः हार्दिक शुभ कामना  अस्तु .  . . . .. .  .
                                                                               बुद्धिसागर बराल
                                                                        सदस्य नगर शिक्षा समिति
                                                                     बेसिशहर नगरपालिका लमजुङ
  मितिः- २०७५ कार्तिक २३ गते भाइ टीकाकोदिन ।

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |