।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Tuesday, November 21, 2017

                       राजनीतिक संस्कारमा धमिरा
        धमिरा लागेको काठ बाहिर हेर्दा सबै ठिक ठाक देखिए पनि जसरी भित्र खोक्रो हुन्छ त्यसै गरी संस्कार नभएको राजनीति पनि खोक्रो र अर्थहिन हुन जान्छ । राजनीतिक संस्कार ले नै मुलुकको आर्थिक सामाजिक सांस्कृतिक एवं राजनैतिक बिकासको झझल्को देखाउछ। राजनितिक संस्कार भनेको के हो भन्ने बिषयमा बिभिन्न समयका बिभन्न विद्वानहरुले बिभिन्न किसिमबाटै ब्याख्या र बिश्लेषण गरेका छन । यसैक्रमलाइ खोज्दै जादा राजनीतिक संस्कार भन्ने शब्द ग्रावियल आल्मण्ड भन्ने बिद्वानले सन १९५६मा उनैले लेखेको पुस्तकमा पाइएको हो भन्ने कुरा हालका हाम्रा बिभिन्न लेखकहरुको पुस्तकमा पाइएको छ । सामान्य रुपमा बिचार गर्दा पनि राजनैतिक संस्कार त्यस्तो बस्तु हो जसले कुनै पनि मुलुकको राजनैतिक बिकासको सांस्कृतिक तथा सामाजिक पक्षको अध्ययन र अनुसन्धान गर्दछ । परंपरागत रुपमा चलिरहेको र सम सामयिक रुपमा देखिएको मानिसको  राजनीतिक चाल चलन आनी बानी र ब्यबहारको जानकारी गराउदछ । यसैलाइ बुझेर बर्तमानका राजनीतिक शास्त्रीहरुले राजनीतिक संस्कारलाइ ब्यापक र लोकपृय बनाएका छन । उनिहरुले के पनि भनेका छन भने राजनैतिक संस्कारका कारणले गर्दा नै  समयानुकुल राजनीतिक ब्बस्थामा परिवर्तन सुधार तथा बिकास हुन सकेको हो । मानिसहरुले राजनैतिक संस्कारको बिषयमा बास्तविक ज्ञान सिप र दक्षता हासिल नगरे सम्म राजनीतिक बिकासको बास्तविक ज्ञान ग्रहण गर्न सम्भव छैन ।  राजनीतिक संस्कारले राजनीतिको मार्ग निर्देश गर्दछ ।त्यसैले राजनीतिक बिकास गर्न पहिला राजनैतिक संस्कारको बिकास हुनु अनिवार्य तथा आबश्यक हुन्छ ।  
    राजनैतिक संस्कारको बिषयलाइ लिएर आल्मण्ड भन्दछन राजनैतिक सामाजिकरणको मुख्य उद्देश्य नै राजनीतिलाइ समय सापेक्ष रुपमा सकृय बनाउनु हो  र परिवर्तन गर्नु हो । प्रत्यक्ष रुपमा बाहिर नदेखिए पनि यो आन्तरिक रुपमा चलिरहन्छ र राजनैतिक संस्कार कायम गराइ परिवर्नलाइ संस्थागत गर्दछ । यसै बिषयलाइ लिएर लुसियन पाइ ले लेखेका छन कुनै पनि समाजको परम्परा त्यसको आत्मा नागरिकको सामुहिक आकांक्षा विबेक र ऐतिहासिक अनुभवको प्रतिफल तथा नेताहरुले काम गर्ने तौर तरिका मात्र राजनैतिक संस्कार होइन बरु यो त राज्यब्यबसथाका सम्पुर्ण अंगलाइ परिचालन गरी मानिसलाइ राजनैतिक ब्यबहारको मार्ग निर्देश गर्ने साधन हो । यसले राजनीति प्रति बिश्वास दिलाउछ । राजनैतिक कृयालाइ  सकारात्मक र अर्थ पुर्ण बनाउछ । राजनीति प्रति सचेत गराइ नागरिकलाइ नियमकानून  तथा आचार संहिता प्रति प्रतिबद्ध गराइ कानूनी शासन प्रति दृढ रहन असल कुशल र नैतिकवान तथा अनुशासित  बनाउन सहयोग गर्दछ । 
   हाल सम्मको राजनैतिक संस्कारको बिकासमा मानवको सोंच बिचार गर्ने शक्ति र एक आपसको सम्बन्ध र पहिचान  परिवार समुदायहरु शिक्षालयहरु पेशा र ब्यबसायहरु राजनितिक लगायत अन्य संघ र संस्थाहरु संचारका माध्यहरु बाटै राजनैतिक संस्कारको बिकास र निर्माण भएको पाइएको छ ।
  धेरै मानिसहरु आफ्नै ब्यक्तिगत लाभ हानी आशा अभिलासाका आधारमा बिभिन्न राजनैतिक दल वा संस्कार सगँ आबद्ध भएर सहभागिता देखाइ रहेका हुन्छन भने कतिपय मानिसहरु बिना लोभ लालचा र आशाका साथ पनि देश र जनता तथा राष्टियता र राजनीतिक संस्कार कै बिकासका लागि भनि राजनीतिक कृयाकलापमा सहभागि भै रहेका हुन्छन र बलिदानी पनि दिइ रहेका छन। तिनै जनताको सहभागिताको आधारमा राजनैतिक संस्कारलाइ आलमण्डले निम्नानुसारका चरणमा बिभाजन गरेका छन ।
१.        परम्परागत अविकसित वा संकिर्ण राजनीतिक संस्कार- 
प्राय गरेर अबिकसित समाज वा मुलुकमा यस्तो किसिमको राजनीतिक संस्कार पाइन्छ । यस किसिमको राजनीतिक संस्कारभएको मुलुकमा प्राय गरेर बंशानुगतरुपमा राज्य प्रमुख रहने र राजनैतिक आर्थिक धार्मिक सामाजिक लगायतका सबै किसिमका राज्य सम्बन्धि हक र अधिकार उसैमा निहित रहेको हुन्छ र उसैले प्रयोग गर्दछ । कोही को कसै प्रति पनि चासो रहदैन । जनतालाइ राजनैतिक रुपमा सचेत गराइदैन र हुन पनि दिइदैन । राज्यको कार्य प्रति जनता पुर्णरुपमा अनभिज्ञ रहन्छन । समयको परिवर्तन भए पनि जनतामा पहिचान गर्ने सामर्थ रहदैन ।
२.      अर्ध बिकसित राजनैतिक संस्कार –
  यसमा केहि मात्रामा समाज बिकास भएको संकेत सम्म पाइन्छ । राजनैतिक कृया कलाप प्रति केहि जनताले चासो र जिज्ञासा राख्दछन भने केहिले राख्दैनन । राजनीति प्रति पुर्णरुपमा निष्कृय रही सरकारले गरेको निर्णयलाइ शिरोधार्य गर्दछन । कहि कतै स्वतन्त्रताको नाममा यदाकदा आवाज उठाउने गर्दछन भने धेरै मौन रहन्छन । प्राय गरेर यस किसिमको राजनैतिक संस्कार उपनिवेशका जनतामा भएको पाइएको छ ।
३.      बिकसित वा सहभागितामुलक राजनीतिक संस्कार –
     खास गरेर यस किसिमको राजनीतिक संस्कार बिकसित समाजमा पाइन्छ । यस्तो समाजका मानिसमा राजनैतिक चेतनाले भरिपुर्ण हुन्छ । सबै नागरिकहरु आफ्नो हक र अधिकारको लागि सचेत हुन्छन । समानता र स्वतन्त्रताको लागि आफ्नो बिचार व्यक्त गर्न तथा आवाज निकाल्न पछि हटदैनन ।  सम सामयिक रुपमा हुने राजनैतिक ब्यबस्थाको परिवर्तन तथा बिकासको प्रक्रियालाइ नजिकैबाट नियाली रहेका हुन्छन वा मुल्याङकन गरि रहेका हुन्छन । जनताको ब्यापक सहभागिता हुने हुदा सरकारले जनाको आवाजलाइ नकार्न सक्दैन । कमजोरीलाइ औल्याउन प्रतिपक्ष दलहरु पनि सक्रिय रहन्छन । सबै राजनैतिक दल र जनता स्वतन्त्र निष्पक्ष र धाँधली रहित निर्वाचनको पक्षमा हुन्छन ।नैतिकवान र निर्वाचन आयोगबाट निर्देश गरेका आचार संहिता पालना गर्न तयार हुन्छन । सरकारले पनि जनतालाइ बिश्वास दिलाउन बढो चलाखिपूर्ण तवरले  माथि उल्लेखित बिषयहरु प्रति प्रतिबद्ध रहि आफ्ना कृयाकलापहरु सञ्चालन गर्छ । जनताका आबश्यकता र चाहना पुरा गर्न तर्फ लाग्दछ । निर्वाचनको समयमा कुनै पनि राजनैतिक दलले एक आपसमा हिलो छ्याप्ने र गालि गलौज गर्ने गरिदैन । आफना नीति उद्धेय र कार्यक्रम जनता समक्ष खुला रुपमा पस्कन्छन र जनताले पनि खुला हृदयले स्वतन्त्ररुपबाट निर्वाचनमा भाग लिएर आफ्ना प्रतिनिधिहरु छान्ने गर्दछन । कुनै पनि लोभ र लालचामा फस्दैनन । पक्ष र प्रतिपक्ष छुट्टीदैनन । पैसाबाट मत किन्ने काम गरिदैन । डर धाक र धम्कि सगँ जनताहरु बिचलित हुदैनन । एक आपसमा बिचार र दृष्टिकोण मिल्ने राजनैतिक दलहरुमा एकता भैरहन्छ र बिचार नमिलेमा फुट्ने पनि स्वभाविक रुपमा भै रहन्छ ।
   यसरी माथिका राजनैतिक संस्कारका चरणहरु र हाम्रो मुलुकमा हाल प्रचलनमा रहेको राजनैतिक संस्कारलाइ तुलना गर्दा हाम्रो राजनैतिक संस्कार  दोस्रो र तेस्रो चरणको बिचमा वा संक्रमण कालिन अवस्थामा रहेको हो की भन्ने भान जनताले गरी रहेका छन । किनकी हालै हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देखिएका राजनैतिक स्वरबाट र सुनिएका गाली गलौजका शब्द  भाषा ब्यबहार र नैतिकता  आचार संहिताको उल्लंघन तथा निर्वाचन आयोगलाइ बनाइएको निरिहेता ले जनतालाइ स्तब्ध बनाएको छ ।   कुरै गर्न त कुनै पनि राजनीतिकदलहरु कमजोर देखिएका छैनन तर ब्यबहार भने एउटा सामान्य मानिसले अनुसरण गर्ने किसिमका पनि देखिएका छैनन । उच्च तहका प्रोफाइल बनाएका बक्ताहरुले आम सभामा ब्यक्त गरेका कुराहरु सुन्दा दिक्क र अफशोच पनि लागेको छ । कुनैले पनि नैतिकताको सवाल उठाउदैनन। आचार विचार र संस्कार को कुरै उठाउदैनन । खाली दलिय र ब्यक्तिगत फाइदाका कुरा भन्दा अरु सुनिदैन । जनताहरु रोग भोक र शोकले पिडित छन । आँग ढाक्ने एकसरो कपडा छैन । बिहान खाए बेलुका खाने कुरा छैन । बस्ने र आश्रय लिने ठाउँ छैन । तै पनि नेताहरुलाइ लाज र शरम छैन हामीले यसो गरेऔ र उसो गरेऔ भन्न । सडक भत्किएका भत्कियै छन। धुलो र मैलो यथाबत छ । धारामा पानी छैन। सडकमा बत्ति छैन। सुन फलाउन सक्ने खेतवारी बाझै छ । ढलको ब्यबस्तै छैन । सामुदायिक रुपमा रहेका बिद्धालय र कलेज राजनीतिले ढपक्क ढाकी चल्न चल्पलाउन सकेका छैनन। बिद्धयालयमा प्रवेश गर्ने बित्तिकै शिक्षकको राजनैतिक प्रशिक्षण सुरु हुन्छ । सबै शिक्षक नेता र सबै नेता शिक्षक बनेका छन । बिद्धयालयहरु भ्रष्टाचारका अखडा बनेका समाचारहरु आइ रहेका छन ।बाल बालिकाको भविष्य अन्धकार हुन लागिसकेको छ । कोहि कसैलाइ चासो छैन । बजारको ब्यबस्था अस्तब्यस्त छ । दलिय ब्यबस्थामा राजनीतिक दलहरु एक आपसमा जुटनु र फुटनु स्वभाभिक हो । यसमा कोही रिसाउनु र हास्नु पर्ने अवस्थै देखिदैन । अपशब्दै प्रयोग गरी गालि गलौजमा उत्रनु पर्ने अबस्था पनि छैन । किनकी नेपालका राजनीतिकदलहरु सबै शुद्धै छन र देशका पहरेदार हुन भन्ने कुरा इतिहासले पनि देखाउन सकेको छैन । बिश्वमा अन्य मुलुकका नेताले गरेको प्रगति र उन्नति सुन्दा र यो मुलुकका नेताको राजनैतिक संस्कार देख्दा जनताहरु निराश छन । यसलाइ लिएर यसका जानिफकार एवं पर्यवेक्षकहरुले भन्न थालिसकेका छन  के नेपालको राजनीतिक संस्कारमा धमिरा लागेर यस्तो भएको त होइन ? अस्तु.  . . . . . . .
                                                            बुद्धिसागर बराल
                                                           बेसिशहर ८ लमजुङ
 मिति-२०७४ मार्ग ५ गते रोज ३ शुभम् .. ....  . ....
 

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |